तीज महोत्सव स्थगित गरेको ईन्द्रेणी एकीकृत विकास केन्द्रले बाढी पीडितलाई एक लाख दिने


     एभरेस्ट आवाज    
     भाद्र १३ गते २०८३ मा प्रकाशित




पोखरा, १३ भदौ ।

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका–१ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने भनिएको ऐतिहासिक टुँडिखेल तीज महोत्सव–२०८३ स्थगित गरिएको छ।
इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा–१ को आयोजनामा भदौ २५ देखि ३१ गतेसम्म सञ्चालन गर्ने तय भएको महोत्सव यस वर्षका लागि स्थगित गरिएको हो।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान, लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल उद्धेश्यका साथ पोखराको ऐतिहासिक स्थल पुरानो टुँडिखेलमा आयोजना गर्न लागिएको महोत्सव तीन दिनअघि भोटेकोशी नदीमा आएको बाढीका कारण स्थगित गरिएको हो।
बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति हुनुका साथै देश नै शोकमग्न र दुःखद परिस्थितिबाट गुज्रिरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै महोत्सव स्थगित गर्ने निर्णय गरिएको आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए।
केन्द्रले शनिबार आयोजना गरेको समीक्षा तथा छलफलपछि तीज महोत्सव हाललाई स्थगित गर्ने निर्णय गरेको अध्यक्ष अधिकारीले बताए।
“हामीले प्रत्येक वर्ष नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा हाम्रो मौलिक संस्कृति, परम्परा, कला तथा लोपोन्मुख संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस महोत्सवलाई निरन्तरता दिँदै आएका छौँ। यस वर्ष पनि सोही उद्देश्यअनुरुप महोत्सवको तयारी अघि बढाइएको थियो। तर, देशमा उत्पन्न यस दुःखद र संवेदनशील परिस्थितिमा उत्सवमय कार्यक्रम सञ्चालन गर्नु उपयुक्त नहुने निष्कर्षसहित महोत्सव स्थगित गर्ने निर्णय गरिएको हो,” अध्यक्ष अधिकारीले भने।
केन्द्रले प्राकृतिक विपत्तिबाट ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको जनाएको छ।
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ केन्द्रले शनिबार आयोजना गरेको समीक्षा तथा छलफलपछि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ जम्मा गर्ने निर्णय समेत गरेको छ।
केन्द्रसँगै केन्द्रको कार्यसमिति, आजीवन तथा साधारण सदस्यहरुबाट संकलन गरिएको रकम कोषमा जम्मा गर्ने निर्णय भएको केन्द्रका सचिव दुर्गा अधिकारीले जानकारी दिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।