सहारा क्लबको ‘समर हाइकिङबाट ६ लाख बचत, बाढी प्रभावितलाई ५० हजार सहयोग


     एभरेस्ट आवाज    
     भाद्र १३ गते २०८३ मा प्रकाशित




पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर च्यारिटी’बाट ६ लाख रुपैयाँ बचत गरेको छ । क्लबले हाइकिङबाट बचत भएको रकम पोखरा–१७ दोबिल्लामा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा आश्रित बालकहरूको शिक्षा, स्वास्थ्य, खानपान तथा फुटबल प्रशिक्षणमा खर्च गर्ने भएको छ ।
गत साउन ३० गते पोखरा महानगरपालिका–९, फल्चा (महेन्द्रपुल)देखि काहुँडाँडासम्म आयोजना गरिएको एकदिने हाइकिङबाट कुल १० लाख ३६ हजार ४ सय ३० रुपैयाँ आम्दानी भएको क्लबले जनाएको छ । क्लबले शनिबार पोखरामा हाइकिङको आय–व्यय सार्वजनिक गरेको हो ।
कार्यक्रम संयोजक पूर्णबहादुर गुरुङले हाइकिङबाट बचत भएको रकम सहारा एकेडेमी सञ्चालनमा उपयोग गर्ने बताए । “हाइकिङबाट प्राप्त बचत रकम सहारा एकेडेमीका बालकहरूको शिक्षा, स्वास्थ्य, खानपान र फुटबल प्रशिक्षणमा खर्च गरिनेछ,” उनले भने, “कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति क्लब आभारी छ ।”
यसैबीच, भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहारा क्लबले बाढीपीडितका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । क्लबका कोषाध्यक्ष लिलबहादुर थापा मगरले हाइकिङबाट बचत भएको रकममध्ये ५० हजार रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताए ।
“बाढीपीडितका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छौं,” उनले भने, “क्लबका पदाधिकारी, सदस्य, सल्लाहकार, पूर्वअध्यक्ष तथा शुभेच्छुकबाट समेत थप रकम संकलन भइरहेको छ । संकलित रकम पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्छौं ।”
हाइकिङ कार्यक्रम सफल बनाउन पोखरा महानगरपालिका–९ ले २ लाख, तमु धिं यूकेले २ लाख, सहारा यूकेले १ लाख २३ हजार ९ सय ३०, एन्फा कास्कीबाट ५० हजार लगायत विभिन्न संघसंस्था एवं व्यक्तिबाट सहयोग प्राप्त भएको क्लबले जनाएको छ ।
सहारा यूकेका पूर्वअध्यक्ष एमबीई दिलीपकुमार गुरुङले २५ हजार, सदस्य एवं सहारा यूकेका सल्लाहाकार चन्द्रबहादुर गुरुङले २५ हजार र क्लबका विष्णु गुरुङले २८ हजार सहयोग गरेका थिए । सहारा यूकेका निवर्तमान अध्यक्ष कृष्णकुमार गुरुङ, सल्लाहकार भोज गुरुङ, सहारा यूकेका आजीवन सदस्य मनोज गुरुङ, मानार्थ सदस्य मुछेत्र गुरुङ, मानार्थ सदस्य लोकबहादुर गुरुङ, सहारा हङकङका संस्थापक अध्यक्ष दीपक गुरुङ, सहारा हङकङका अध्यक्ष सरोज गुरुङ (खम), खेलकुदकर्मी नारायण गुरुङ, जयप्रकाश गुरुङ, सौन्दयकर्मी वविता केसी, बसन्त ज्ञवालीलगायतले समेत सहयोग गरेका थिए ।
क्लबका अध्यक्ष केशवबहादुर थापाले सहारा क्लबले खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको बताए । एकेडेमी सञ्चालनका लागि वार्षिक करिब ५० लाख रुपैयाँ खर्च हुने गरेको उनले बताए ।
“एकेडेमीमा आश्रित बालकहरूको शिक्षा, स्वास्थ्य, खानपान र फुटबल प्रशिक्षण निरन्तर सञ्चालन गर्न ठूलो रकम आवश्यक पर्छ,” उनले भने, “क्लबको नियमित आम्दानीबाट मात्रै यो खर्च व्यवस्थापन गर्न कठिन छ ।”


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।