काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै


     एभरेस्ट आवाज    
     भाद्र १३ गते २०८३ मा प्रकाशित




रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ-मुग्लिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

बुधबार भोटेकोशीमा आएको बाढीका कारण विभिन्न स्थानमा सडकमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो । लेदोसहित सडकमा थुप्रिएका फोहर बाढी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार सडक खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका सवारीसाधनलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ ।

उनले बाढीका कारण सडकभरि लेदो थुप्रिएकाले यातायात सञ्चालनमा समस्या भएको बताउँदै लेदो हटाएपछि सवारीसाधन सञ्चालनमा ल्याइएको जानकारी दिए । “बाढीका कारण सडकभरि लेदो थुप्रिएको थियो, त्यो पन्छाएर सवारीसाधन सञ्चालन गरिएको छ । लामो समयदेखि राजमार्गमा अड्किएका सवारीलाई पनि सुरक्षित स्थानतर्फ पठाइएको छ”, प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले भने ।

यसैबीच, धादिङको वैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडक भने हाल एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । बाढी तथा पहिरोका कारण अवरुद्ध सडक खुलाउने तथा यातायातलाई सहज बनाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।