तायाः मचा नृत्य प्रतियोगिता अब असोज ३ गते हुने

- भोटेकोशी बाढी पीडितलाई लामाचौर नेवाःखल गुठीको ५५ हजार सहयोग


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, भदौ १७

पोखरामा यहि भदौ २० गते शनिबार हुने भनिएको तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव सरेको छ । भोटेकोशी बाढीका कारण सयौंको ज्यान जानुका साथै हजारौं बेपत्ता तथा घाईते भएर देश शोकमा परेको भन्दै आयोजक लामाचौर नेवाः खल गुठी कास्कीले पूर्व निर्धारित भदौ २० गते हुने भनिएको प्रतियोगिता स्थगित गर्दै नया मिति तय गरेको हो । अब असोज ३ गते शनिबार प्रतियोगिता हुने आयोजक लामाचौर नेवाः खल गुठी कास्कीका सचिव योगेन्द्र श्रेष्ठ (युगिन)ले जानकारी दिए । नेवाःखल कास्कीको आह्वानमा हुने तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सवको २७ औं श्रृंखला पोखरा–१६ लामाचौर चोकमा हुनेछ ।

तायाःमचा नाचको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि भन्दै हरेक वर्ष पोखरामा हुँदै आएको प्रतियोगिताको निरन्तरता स्वरुप यस वर्ष पनि प्रतियोगिता आयोजना गर्न लागेको आयोजक लामाचौर नेवाः खल गुठीले जनाएको छ । नेवारी समुदायमा परिवारको सदस्यको मृत्यू भएको एक वर्ष भित्र गाईजात्रा निकाल्ने परम्परा छ । गाईजात्रामा समावेश हुने बाजासहितको नाचलाई नै तायाःमचा भनिन्छ ।

गाईजात्रा यस वर्ष भदौ १३ गते शनिबार परेको थियो । गाईजात्राको दिन घर÷घरबाट गाईजात्रासँगै तायाःमचा निकालेर बजार परिक्रमा गराउने चलन छ । त्यहि परम्परा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पोखरामा निरन्तर तायाःमचा नृत्य प्रतियोगिता आयोजना गर्ने गरिएको छ । तर गाईजात्राका दिन बजार परिक्रमा गर्दागर्दै रात पर्ने भएकाले गाईजात्रा पछिको पहिलो शनिबार तायाःमचा नृत्य प्रतियोगिता आयोजना गर्ने गरिएको नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । तर यस वर्ष विषम परिस्थितिका कारण दुई हप्ता पर धकेलिन पुगेको उनले बताउ ।

विगत २७ वर्षदेखि आयोजना हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता पहिलो पटक लामाचौरमा हुन लागेको हो । यसअघि पोखराको भैरबटोल, विन्ध्यबासिनी, तेर्सापट्टी, रानीपौवा, पृथ्वीचोक, रामबजार, लेखनाथ लगायतका क्षेत्रमा भइसकेको छ । पहिलो पटक लामाचौरले तायाःमचा नृत्य प्रतियोगिता आयोजना गर्न पाएकाले यसलाई ऐतिहासिक बनाउने प्रयासमा आफूहरु लागेको प्रतियोगिताका मूल आयोजक समितिका संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए । उनले भने,‘यो हाम्रो संस्कृति हो, यसको संरक्षण, प्रवद्र्धन र सम्वद्र्धन गर्दै नया पुस्तालाई आकर्षित गरेर तायाःमचा संस्कृति पुस्तान्तरण गर्ने पनि उद्धेश्य हो ।’

प्रतियोगितामा यस वर्ष ३८ वटा टीम सहभागी हुने आयोजकको अनुमान छ । जसमा महिला १२ टिम सहभागी हुने लामाचौर नेवा ः खल गुठीका सचिव योगेन्द्र श्रेष्ठ (युगीन)ले जानकारी दिए । तर अप्रतियोगिका रुपमा आयोजक लामाचौरसँगै छोरेपाटनले पनि सहभागिता जनाउने उनले बताए ।

यस वर्षको प्रतियोगिताको बिजेताले १ लाख ११ हजार १ सय ११, द्वितीय हुनेले ७७ हजार ७ सय ७७ रुपैयाँ र तृतीय हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ तथा सान्त्वना हुने एक टीमले २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजक लामाचौर कचाःखल गुठीका अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए ।

यस वर्ष महिलातर्फको उपाधि बिजेतालाई ४० हजार, द्वितीय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई २० हजार प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा सहभागी प्रत्येक टिमलाई १५ हजार प्रोत्साहन स्वरुप प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगितामा पुरस्कारको लागि आवश्यक सम्पूर्ण रकम नगद १० लाख पोखरा–३ तेर्सापट्टी निवासी रामकाजी श्रेष्ठ, रविन्द्र श्रेष्ठ, शंकर श्रृष्ठ र कविन्द्र श्रेष्ठको परिवारले आफ्ना स्वर्गिय माता पीता हेमप्रसाद श्रेष्ठ र बालकुमारी श्रेष्ठको स्मृतिमा प्रदान गर्ने भएका छन् । अन्य रकम भने प्रायोजक तथा सहयोगीबाट संकलन गरिने लामाचौर कचाःखल गुठीका अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए ।

यसैबीच, लामाचौर नेवाःखल गुठी कास्कीले भोटेकोशी बाढी पीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । लामाचौरमा बसोबास गर्दै आएका ४० घरधुरीबाट संकलन गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेको सचिव श्रेष्ठले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।