पोखरा पाटी मिडियाको आयोजना बेगनासमा सम्पन्न तीज गीत प्रतियोगिताको उपाधि उज्वल आमा समूहलाई

- बेगनासको पर्यटनसँगै महिला सशक्तिकरणको मुद्धा उठान


     एभरेस्ट आवाज    
     भाद्र २८ गते २०८३ मा प्रकाशित




पोखरा पाटी मिडिया प्रालिले पोखरा–३१ स्थित बेगनासताल वराह क्षेत्रमा शनिबार आयोजना गरेको प्रथम तीजगीत प्रतियोगितामा उज्ज्वल आमा समूह प्रथम भएको छ । पोखरा पाटी मिडियाको आयोजना तथा बेगनासताल वराह क्षेत्र विकास संस्थाको समन्वयमा भएको प्रतियोगितामा सिर्जनशील आमा समूह, स्याङ्खुदी पोखरा–२८ द्वितीय, सक्रिय आमा समूह पोखरा–३१ तृतीय तथा दिदीबहिनी महिला समूह पोखरा–३० र लगनशील आमा समूहले सान्त्वना स्थान प्राप्त गरे ।

प्रथम हुने उज्वल आमा समूहले रु २५ हजार, द्वितीय हुने सिर्जनशिल आमा समूहले १५ हजार, तृतीय हुने सकृय आमा समूहले १० हजार तथा सान्त्वना हुने दिदीबहिनी महिला समूह र लगनशिल आमा समूहले रु पाँच–पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले परेवा उडाएर उद्घाटन गरेको कार्यक्रमको तीज गीत प्रतियोगितामा प्रतिष्पर्धी आमा समूहहरुले बेगनासको पर्यटन, आर्थिक, सांस्कृतिक र सामाजिक सशक्तिकरण सम्बन्धी विषय उठान गर्दै प्रस्तुती दिएका थिए । महिलाको समस्या केन्द्रीत तीज गीतभन्दा फरक विषय महिला सशक्तिकरण, आर्थिक सशक्तिकरणसँगै बेगनासको पर्यटनलाई विषय बनाएर गरिएको प्रस्ुतीमा सहभागी रमाएका थिए ।

उद्घाटन समारोहमा अध्यक्ष पराजुलीले धार्मिक तथा पर्यटकीय महत्व बोकेको बेगनासताल वराह क्षेत्रमा तीजगीत प्रतियोगिताको आयोजनाले संस्कृति र पर्यटनलाई एकैसाथ जोड्ने अवसर प्रदान गरेको बताईन् । उनले तीजगीत महिलाका भावना, पीडा, माइतीघरका समस्या तथा सामाजिक अवस्थालाई अभिव्यक्त गर्ने माध्यमका रूपमा विकास भएको उल्लेख गर्दै पछिल्लो समय महिला सशक्तीकरण, उद्यमशीलता र आर्थिक समृद्धिका विषयसमेत गीतमार्फत उठ्न थालेको बताईन् । महिलालाई चुलोचौकामा मात्र सीमित नराखी समाज परिवर्तन र विकासको संवाहकका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै उनले महिला उद्यमशीलता, आर्थिक आत्मनिर्भरता र सशक्तीकरणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताईन् ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले तीज नेपाली महिलाको महत्वपूर्ण सांस्कृतिक पर्व भएकाले यसको मौलिकता र सामाजिक सन्देशलाई संरक्षण गर्दै अघि बढ्नुपर्ने बताए । उनले नेपाली मौलिक गीतले ज्वारभाटा उत्पन्न गर्ने क्षमता राख्ने उल्लेख गरे ।

पोखरा महानगरपालिका–३१ का वडा अध्यक्ष ढकनाथ कँडेलले बेगनासताल वराह क्षेत्रमा आयोजित तीजगीत प्रतियोगिताले धार्मिक तथा सांस्कृतिक गतिविधिसँगै पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने बताए ।

कार्यक्रममा कलाकार रामजी पौडेल, वराह क्षेत्र विकास संस्थाका अध्यक्ष सुरेन्द्र सापकोटा ‘भाट’, अञ्जना कँडेल तथा लेखनाथ उद्योग वाणिज्य संघकी सदस्य प्रतीक्षा रानाभाटलगायतले बेगनास वराह क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई थप स्थापित गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
प्रतियोगिताले तीजको सांस्कृतिक मौलिकतालाई संरक्षण गर्दै महिलाको सिर्जनशीलता र सामाजिक चेतनालाई अभिव्यक्त गर्ने अवसर प्रदान गर्नुका साथै बेगनास क्षेत्रको धार्मिक तथा पर्यटकीय सम्भावनालाई समेत उजागर गरेको आयोजक पोखरा पार्टी मिडियाका प्रवन्ध निर्देशक सिद्धान्त शाहीले एभरेष्टआवाज डटकमलाई बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।