भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व आज देवादिदेव महादेवको विधिपूर्वक पूजाआराधना गरी मनाइँदैछ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीय मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । यस लोकमा परिवारको सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ ।
धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका तीजको व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।आइतबार व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्वतयारी गरेका छन् । महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा पनि उपयोग गर्ने गरेका छन् । यही भदौ १० गते रसुवाको भोटेकोशी बाढीको पीडाका कारण विगत वर्षजस्तो तीज पर्वको रौनक छैन । आइतबार दर खाएपछि औपचारिक रुपमा सुरुभएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । यस वर्ष गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।
तीजको अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि पशुपति क्षेत्रमा लाम लागेको छ । हरितालिका व्रत बसेका महिलाको सहजताका लागि आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ । पहिलो लाम मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट श्री पशुपतिनाथ मन्दिरको उत्तरतर्फको ¥याम्पबाट आराध्यदेव भगवान्को दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।
यसैबिच प्रधानमन्त्री वालेन्द्र शाहले हरितालिका तीजका अवसरमा शुभकामना दिएका छन् । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले “सम्पूर्णमा हरितालिका तीजको हार्दिक शुभकामना” भनेका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ २९ गुरुङ–मगर समाज, पोखरा–१९, लामाचौर (पातीघारी)ले राष्ट्रिय खुल्ला प्रौढ…





