मिजोरम गोर्खा नारी समाजको प्लाटिनम जयन्ती समारोह सम्पन्न


     एभरेस्ट आवाज    
     असाेज ५ गते २०८३ मा प्रकाशित




मिजोरम गोर्खा नारी समाजले बिभिन्न कार्यक्रम गरी प्लाटिनम बर्ष समारोह सम्पन्न गरेको छ ।

मिजोरमको दोरपुईमा आयोजित विशेष कार्यक्रममा राज्य सरकारबाट सर्वश्रेष्ठ शिक्षक पुरस्कारद्वारा सम्मानित साहित्यकार तथा शिक्षाविद् पूर्णप्रसादलाई विशेष सम्मान गरिएको छ।त्यस्तै शिक्षा तथा खेलकुदका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न प्रतिभाहरूलाई सम्मान गरिएको थियो। समाजका प्रतिभाहरूको योगदानको कदर गर्दै उनीहरूलाई सम्मानित गरिएको अध्यक्ष मिनु लक्ष्मीले जानकारी दिईन् । उनीहरुलाई समाजका अध्यक्ष लक्ष्मी र प्रमुख अतिथि वरिष्ठ समाजसेवी सेना जैसीले सम्मान गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जैसीले असल व्यक्तिहरुको सम्मानले समाज नै सम्मानित भएको बताईन् ।

उनले समाजले सामाजिक चेतनाको विकाससँगै नेपाली भाषा, कला, संस्कृति, जातीय सभ्यता तथा नारी सशक्तीकरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको भन्दै प्रशंसा गरिन् । जैसीले नेपालीभाषी समुदायलाई एकताको सूत्रमा बाँध्दै हरेक दुःख–सुखमा एकअर्काको साथ दिने वातावरण निर्माण गरेको बताउँदै, स्थानीय जाति तथा समुदायहरूसँग समेत सुमधुर सम्बन्ध कायम गर्दै समाजले मिजोरममा सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको स्पष्ट पारिन् । कार्यक्रममा समाजको जोत्लाङ शाखाले साहित्यकार निर्मलकुमार पुनद्वारा रचित एवं गायिका धनरुपा थापाद्वारा स्वरबद्ध गीत प्रस्तुत गरेको थियो । समाजका अध्यक्ष मिनु लक्ष्मीको अध्यक्षतामा भएको समारोहमा समाजको अविस्मरणीय इतिहास र सामाजिक योगदानको स्मरणस्वरूप विशेष स्मारकको समेत अनावरण गरिएको छ।

सन् १९५४ मा स्थापना भएको समाजले तीज, तिहार लगायत विभिन्न चाडपर्व तथा विशेष दिवसहरूका अवसरमा परम्परागत मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउँदै आएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।