कास्कीमा ‘अपरेसन ३६५’ : ३६५ दिनमा ८९८ मोटरसाइकल कारबाहीमा


     एभरेस्ट आवाज    
     असाेज २७ गते २०८३ मा प्रकाशित




पोखरा

मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, ध्वनि प्रदूषण गर्ने, समाजमा आतंक फैलाउने र शान्तिसुरक्षामा खलल पार्ने गतिविधिमा संलग्न ८९८ वटा मोटरसाइकललाई कास्की प्रहरीले कारबाही गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले २०८२ असोज २७ देखि सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत २०८३ असोज २६ गतेसम्म ३६५ दिनको अवधिमा ती मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही गरेको हो।
प्रहरीका अनुसार मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, होहल्ला मच्चाउँदै हिँड्ने, सडकमा मोटरसाइकल उडाउने तथा उच्छृङ्खल गतिविधि गर्ने र शान्तिसुरक्षामा खलल पार्ने चालकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही गरिएको छ।
यस अवधिमा ३६ जना मानिसलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। तीमध्ये २९ जनालाई सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरी कारबाही गरिएको र अन्यलाई सम्झाइबुझाइ परिवारको जिम्मा लगाइएको थियो।
प्रहरीले कारबाहीका क्रममा ८९१ मोटरसाइकल नियन्त्रणमा लिएकोमा ३६७ वटा मोटरसाइकललाई पटक–पटक कारबाहीमा परेको हुँदा यातायात व्यवस्था कार्यालयमार्फत कारबाही गरिएको जनाएको छ। अन्य मोटरसाइकललाई ट्राफिक जरिवाना गरी छाडिएको थियो।
प्रहरीको रोहबरमा रहेका नियन्त्रणमा लिइएका सबै मोटरसाइकलको मेकानिकसमेत झिकाई पहिलेको अवस्थामा फर्काउने सर्तमा मात्रै सम्बन्धित व्यक्तिलाई जिम्मा लगाइएको विज्ञप्तिमा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले यस्ता गतिविधिले बालबालिका, ज्येष्ठ नागरिक, असहाय, बिरामी तथा अस्पतालमा उपचाररत व्यक्तिलाई मानसिक र शारीरिक असर पार्ने जनाएको छ। स्वरूप परिवर्तन गरिएका मोटरसाइकल नचलाउन र त्यस्ता मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कसप तथा रिकन्डिसन हाउस सञ्चालकलाई समेत यस्तो काम नगर्न प्रहरीले आग्रह गरेको छ।
प्रहरीले ‘अपरेसन ३६५’ लाई निरन्तरता दिने जनाएको छ। ध्वनि प्रदूषण गर्ने र शान्तिसुरक्षामा खलल पार्ने गतिविधि नियन्त्रण गर्न नागरिकस्तरबाट पनि सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।