पुष्प व्यवसायमा रमाउँदै सुभेच्छा, फूलकै स्याहारमा बित्छ दैनिकी


     एभरेस्ट आवाज    
     कार्तिक १६ गते २०८३ मा प्रकाशित




शिशिर उजाड
पोखरा

धेरै किशोर किशोरीको योजना दश जोड दुईको पढाई सकेपछि विदेश जाने हुन्छ । स्वदेशमा जतिसुकै अवसर भएपनि पछिल्लो समय अधिकांश युवाको मोह भनेको विदेश नै हो। तर पोखराकी एक किशोरी भने परम्परागत कृषि प्रणालीको विकल्पमा व्यावसायिक पुष्पखेती तर्फ आर्कषित भएकी छिन् ।

पोखरा १९ पुरञ्चौरकी सुभेच्छा अधिकारी भने कलेज तहको पढाईसँगसँगै फूल खेतीमा लागेकी छन् ।उनले पोखरा कलेज अफ म्यानेजमेण्टबाट ब्याचलरको अध्ययन समेत पुरा गरेकी छन् । आफुसँगैका कतिपय साथीहरु विदेशमा र कतिपय बिभिन्न कार्यालयमा जागिरे जीवन विताईरहेका बेला उनी भने विगत ३ बर्षदेखि बिभिन्न प्रजातिका सयपत्री फूलसँग दिनचर्या बिताउँदै आईरहेकी छन् ।अचेल उनको दिनचर्या बिहान उठेदेखि साँझ नपरिन्जेलसम्म फूलको स्याहार, सुसार र व्यवस्थापनमा बित्ने गरेको छ ।पर्यटकीय राजधानी पोखराबाट केही टाढा पुरञ्चौरमा रहेको आफ्नो करिब ३ रोपनी पाखोबारीमा उनले सयपत्री फूलको खेती गरेकी छन् ।त्यति सारो अन्न उब्जाउ नहुने पाखोबारी अहिले भने सयपत्री फूलले ढपक्क ढाकिएको छ । विशेषगरी तिहार तथा विभिन्न चाडबाड र उत्सवहरूलाई लक्षित गरी आधुनिक प्रविधि अपनाउँदै उनले फूल खेती गरेकी हुन् । सुरुका २ बर्ष त्यति राम्रो उत्पादन नभए पनि पछिल्ला बर्षहरुमा फूलको उत्पादन उल्लेख्य रहेको अधिकारीले बताईन् ।अध्ययनसँगसँगै आत्मनिर्भर बन्न पनि पुष्प खेतीमा लागेको उनको भनाई छ । “अरुले भन्दा फरक केही काम गर्नुपर्छ भन्ने मनमा लाग्यो, फूलसँग खेल्ने सानै देखिको रुचिलाई अहिले व्यवसायमा परिणत गरेकी हुँ ।” अधिकारीले भनिन्, “आम्दानी पनि राम्रै छ, अहिले त म यही व्यवसायमा रमाइरहेकी छु ।” चाडपर्वमा घरायशी प्रयोजनका लागि सामान्य रुपमा फूल लगाउने गर्दागर्दै नै फूल खेतीतर्फ आकर्षण बढेको र पछिल्लो समय बजार पनि राम्रै भएकाले फूल व्यवसायलाई नै निरन्तरता दिएको उनले बताईन् ।

उनको बारीमा अहिले सयपत्रीअन्तर्गत टेनिसवल र कलकत्ते र ग्ल्याडोलस जातिका फूलहरु ढपक्क ढाकिएका छन् ।दसैं पर्वमा समेत उनले राम्रै फूल बिक्रि गरेकी थिईन् । उनको फुलबारीमा एउटै फुल ५० ग्रामसम्मको उत्पादन हुने गरेको छ । अन्य मौसममा भन्दा चाडपर्वमा फूलको माग बढी हुने र त्यसमा पनि तिहारमा त झन फूलको मागलाई धान्नै नसकिने उनले बताईन् । अधिकारीले अधिकांश फूल पोखरामै खपत हुने र केही आसपासुहित तनहुँ र स्याङ्जाका बजारमा समेत पुग्ने गरेको पनि बताईन् । मौसमी बाहेक विवाहमा सजाउन, उपहार दिन, विभिन्न सभा तथा गोष्ठी लगायतका कार्यक्रमहरुमा फूलको प्रयोग हुने गरेको उनी बताउँ छिन् । विदेशबाट आउने फूलमा सरकारले कडाई गरेपछि स्वदेशी उत्पादनको माग झन् बढेको उनले बताईन् । तर पुष्प खेती व्यवसायीलाई अझै स्थानीय सरकारले प्रोत्साहन गर्न नसकेको उनको गुनासो छ ।सरकारले कृषकहरुलाई दिने अनुदान लगायतका अन्य सहयोगमा सानातिना फूलखेती गर्ने किसानहरुको पहुँच नपुगेको हुन सक्ने उनको बुझाई छ । उनले सुरु गरेको व्यवसायमा आमा सरस्वती र बुबा महेन्द्र पनि सन्तुष्ट छन् ।त्यतिमात्र नभई सिजनमा छिमेकी केहीले पनि रोजगारी समेत पाएका छन् । छरछिमेकीले समेत उनको मेहनतको प्रशंसा गर्ने गरेका छन् ।

अधिकारीले आफु मात्र नभई छिमेकी घार्मी गाउँका दुइ दलित समुदायका महिलालाई पनि यस खेतीमा आर्कषित गरेकी छन् । स्थानीय जतन वि.क र अञ्जु विकले पनि गतवर्ष देखि फूल खेती गर्न थालेका छन् । अधिकारीको प्रेरणा र सहयोगले व्यवसायिक रुपमा फूल खेतीमा लागेको उनीहरुले बताए । अधिकारी पनि बेलाबेलामा त्यस क्षेत्रमा पुगी आवश्यक परामर्श र विउ विजनका बारेमा सल्लाह दिने गरेकी छन् । अर्काको मेलापात र घाँस दाउरा गर्दै आएका विक परिवार अहिले व्यवसायसँगै आम्दानी पनि हुन थालेपछि मख्ख परेका छन् । मेहनत र लगाशील भए खेर गएको आफ्नै बारीबाट व्यवसायिक रुपमा खेती गरेर आर्थिक उर्पाजन गर्न सकिने उनको भनाई छ ।राम्रो उत्पादन गर्न सके सयपत्री फूल १२ महिना नै बिक्रि गर्न सकिने उनको अनुभव छ ।व्यवसायिक नर्सरी बिक्रि केन्द्र खोल्ने तयारीमा लागेकी अधिकारीले फुलमात्र नभई बेर्नासमेत उत्पादन गरेर बिक्रि वितरण गर्दै आईरहेकी छन् ।

यो सिजनमा मात्रै १० हजार बेर्ना बिक्रि गरेको उनले जानकारी दिईन् । नेपालीको दोस्रो ठुलो पर्व तिहार नजिकिदै गर्दा, घर, मठमन्दिर र विभिन्न स्थान सजाउन सयपत्री फूलको प्रयोग बढ्दै गएको छ। यो समयमा फूलको माग बढ्ने भएकाले स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन सके साना किसान देखि उद्यमीलाईसम्म लाभ पुग्ने देखिन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।