पोखरामा ‘गोदावरी पुष्प प्रदर्शनी तथा सयपत्री फूल मेला’ आयोजना हुने

- सयपत्री फूलको उत्पादन घट्दा मूल्य बढ्ने चिन्ता


     एभरेस्ट आवाज    
     कार्तिक १६ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, कात्तिक १६

नेपालीको दोश्रो ठूलो चाँड तिहारको अवसरमा पोखरामा कात्तिक तेश्रो सातादेखि फूलको मेला लाग्ने भएको छ । फ्लोरिकल्चर एशोसियसन नेपाल (फ्यान) कास्की शाखाको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवद्र्धनमा पोखरा रंगशालाको दुई नम्बर गेट भित्रको चौरमा यहि कात्तिक १८ गतेदेखि २३ गतेसम्म नवौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौ गण्डकी प्रदेश स्तरीय एवम् तेस्रो सयपत्री फूल मेला–२०८३ आयोजना हुने सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । मेलाको आगामी बुधबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने तय भएको एशोसियसनले जनाएको छ ।

पोखरामा लगाएको फूल टिप्दै एक महिला । फाईल तस्बिर

मेलामा २६ वटा स्टल रहने फ्लोरिकल्चर एशोसियसन नेपाल कास्की शाखाका अध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार मेलामा व्यावसायीक २२ वटा, कृषि सामग्रीका ३ वटा र सूचनामूलक एउटा स्टल रहनेछन् ।

मेलामा करीब ५० प्रजातिका गोदावरी फूल प्रदर्शनीमा राखिने एशोसियसनका पूर्व अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए । संसारमा एक सयभन्दा बढी गोदावरीका प्रजाति भए पनि पोखरामा करीब ५० प्रजातिका गोदावरी पाईन्छन्,उनले भने,‘ती सबै गोदावरीका प्रजातिहरु मेलामा प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन् ।’ उनका अनुसार मेलामा गोदावरी मूख्य आकर्षणको रुपमा रहे पनि तिहारे फूल (सयपत्री), सिजनल फूलहरु, सुनगाभा, विभिन्न वनस्पती, परम्परागत विरुवा, बोन्साईका विरुवा, कट्फ्लावरलगायतका फूलहरुको प्रर्दशनी तथा बिक्रीका लागि राखिनेछन् ।

मेलाको मूख्य उद्धेश्य फूल प्रयोगप्रति सर्वसाधारणलाई आकर्षित गर्दै स्वदेशी फूलको प्रयोगमा जोड दिनु रहेको अध्यक्ष सुवेदीले स्पष्ट पारे । ‘पुष्प व्यवसाय गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने फूल विरुवाप्रति अभिरुची राख्ने वा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैका निम्ति मेला उपयोगी हुनेमा हामी विश्वस्त छौं’–उनले भने । मेलाको करीब ३५ हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको सुवेदीले बताए ।

गण्डकी प्रदेशमा व्यवसायीक रुपमा ४८ जनाले पुष्प व्यवसाय गर्दै आएको एशोसियसनले जनाएको छ । त्यसबाहेक सिजनल उत्पादन गर्ने किसानहरु पनि धेरै छन् । पोखरामा करीब २ सय रोपनीमा यस वर्ष किसानले सयपत्री फूल लगाएको पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । किसानहरुले तिहारलाई लक्षित गरेर सयपत्री फूल उत्पादन गरेको उनले बताए ।

यस वर्ष फूलको उत्पादन घट्ने पूर्वअनुमान गरिएको छ । जलवायु परिवर्तनको असरले फूल खेल्ने सयममा आएको बदलाव तथा अर्नव चक्रवातका कारण भएको वर्षाले फूलको हाँगा लाछ्ने, ताछ्ने र फूल झार्नेलगायतका समस्याका कारण फूल उत्पादन घट्नसक्ने प्रमुख कडरियाले बताए । यसले फूलको मूल्यमासमेत असर पार्नसक्ने उनको अनुमान छ ।

फूल उत्पादक किसान रमेशकुमार श्रेष्ठले अर्नव चक्रवातका कारण भएको वर्षाले सयपत्री फूलमा १५ देखि २० प्रतिशत क्षेती पुगेको बताए । सो क्षेती क्षेतीपूर्ती हुनेगरी फूलको मूल्य कायम गर्नुपर्ने उनको माग छ । एक त जलवायु परिवर्तनको असरले फूल छिट्टै फूलेर झर्न थालेका छन्,उनले भने,‘अर्कोचाहि वर्षाले फूलमा क्षेती पुर्‍याएको छ । त्यसैले किसानको लागत हेरेर फूलको मूल्य निर्धारण गर्नु उचित हुन्छ ।’

पोखरा महानगरपालिकाले यस वर्ष हालसम्म फूल र मालाको मूल्य निर्धारण गरिसकेको छैन । अघिल्ला वर्षहरुमा महानगरले फूल प्रतिकेजी ५ सय रुपैयाँ निर्धारण गरेको थियो भने मालाको मूल्य १ सय ५० तोकेको थियो । त्यस्तै, महानगरले फूलको थुंगाको ३ फरक मूल्य तोकेको थियो । महानगरले ५ ग्रामभन्दा माथिको फूलको प्रति थुंगा ५ रुपैयाँ, ३ देखि ५ ग्रामसम्मको फूलको थुंगाको ४ रुपैयाँ र ३ ग्रामसम्मको फूलको थुंगाको मूल्य ३ रुपैयाँ तोकेको थियो । महानगरले मूल्य तोके पनि व्यवसायी र किसानले तिहारको अन्तिम समयमा उलंघन गर्ने गरेका छन् । प्रमुख कडरियाले केहि दिनमै फूलको मूल्य निर्धारण हुने बताए । तर पहिलेजसरी तौल अनुसारको ग्रेडिङ गरेर फरक मूल्य नतोकी केजीको मात्रै मूल्य तोक्ने तयारीमा महानगर रहेको उनले प्रष्ट्याए । ‘अघिल्ला वर्षकै हाराहारीमा केजीको हिसाबले मूल्य निर्धारण हुनसक्छ’–उनले भने ।

पोखरामा तिहारमा मात्रै २ देखि ३ करोडको फूल तथा माला आवश्यक पर्ने अनुमान गरिन्छ । जसमध्ये ७० प्रतिशत स्थानिय उत्पादनले धान्ने पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख कडरियाले बताए । बाँकी ३० प्रतिशत कास्कीका अन्य पालिका र नजिकका जिल्लाबाट आयात हुने गरेका छन् । पोखरामा पछिल्लो समय भारतीय फूलको खपत न्यून मात्रै हुने गरेको छ भने प्लाष्टिकका माला आयातमा प्रतिबन्ध लगाइएको छ । स्थानिय फूल हेर्दा आकर्षक, ठूलो थुंगा, गलामा लगाउँदा कलर नलाग्ने र केमिकल प्रयोग नहुने भएकाले स्वस्थताको हिसाबले पनि राम्रो हुने कडरियाको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।