पोखरा र स्याङ्जामा भएका दुर्घटनामा ३ जनाको मृत्यु , ३ जना घाईते


     एभरेस्ट आवाज    
     कार्तिक १६ गते २०८३ मा प्रकाशित




पोखरा र स्याङ्जामा भएका छुट्टाछुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।

पोखरामा स्कुटरले ठक्कर दिदाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ ।पोखरा –२६ अर्घौचोकस्थित सडकमा बाटो काट्ने क्रममा ग १३ प २०९४ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री पर्वत जलजला गाउँपालिका–५ घर भई सोही ठाउँ बस्ने ७० वर्षीय मन बहादुर पुनको आइतबार साँझ मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, रामघाटमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

त्यस्तै स्याङ्जाको वालिङमा ग १ त ५७६९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । हुवासबाट वालिङतर्फ आउँदै गरेको ग १ त ५७६९ नम्बरको ट्याक्टर आइतबार साँझ भित्री सडक खण्डमा अनियन्त्रित भइ पल्टिदा वालिङ १० बस्ने ६१ वर्षीय नन्दलाल बुढामगर र ४३ वर्षीय प्रेम राना मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका पाँचै जनालाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको थियो ।

उपचारका क्रममा दुई जनाको ज्यान गएको हो । चालकसहित घाईते तीन जनाको उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे थप छानबिन भइरहेको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।