हिमालयको स्थापना दिवसमा रक्तदान


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०८३ मा प्रकाशित




पोखराको बाटुलेचौरमा रक्तदान कार्यक्रमको आयोजना हुने भएको छ ।

सामाजिक क्षेत्रमा अग्रणी संस्था हिमालय क्लबले ३० औं स्थापना दिवसको अवसर पारेर यही कार्तिक १५ गते बिहान स्थानीय ऐतिहासिक मैदानमा कार्यक्रमको आयोजना गरेको हो ।प्रादेशिक रक्त संचार केन्द्र, पोखराको प्राविधिक सहयोगमा हुने कार्यक्रममा विभिन्न संस्थाले सहयोग गरेका छन् । चाडपर्वको लामो विदामा रगतको अभाव भईरहेको बेला कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष मोहन थापाले जानकारी दिए । देशभरका रक्त संचार केन्द्रमा रगतको अभाव रहेको जानकारी प्राप्त भएकाले पनि सो कार्यक्रममा रक्तदाताको उत्साहपुर्ण सहभागिता रहने उनले बताए ।

सोही अवसरमा क्लबले संचालन गरेको पवित्र प्रेमनारायण स्मृति शैक्षिक पुरस्कार, विन्ध्यवासिनी माविका मिलन रिमाल र अञ्जली रानालाई प्रदान गरिने छ । त्यस्तै स्वर्गीय सावित्री लिलाधर स्मृति कृषक प्रोत्साहन पुरस्कार, बस्नेत कृषि फर्मका कृषक प्रेमबहादुर बस्नेतलाई प्रदान गरिने तथा श्रीकली थापा र सुकमाया विकलाई एकल महिला सम्मान गरिने कार्यक्रम संयोजक प्रकाश थापाले जानकारी दिए । जनही नगद ५ हजार र प्रमाणपत्र रहेको शैक्षिक पुरस्कार पोखराका युवा व्यवसायी गणेशबहादुर थापाले स्थापना गरेका हुन् भने नगद ५ हजारसहित प्रमाणपत्र संलग्न कृषक प्रोत्साहन पुरस्कार नेतृ प्रभा कोईराला र समाजसेवी कृष्णप्रसाद अधिकारीले संयुक्त रुपमा स्थापना गरेका हुन् । एकल महिला सम्मान जनही ५ हजार र सल प्रदान गरिने क्लबका सुचना अधिकारी शिवराज देवकोटाले जानकारी दिए ।

कार्यक्रम पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमको प्रमुख आतिथ्यतामा हुने र त्यस अवसरमा शुभकामना आदान प्रदानसहित चियापान समेत गरिने क्लबले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।