‘टुर दी पोखरा’को सातौं श्रृंखला पुस १३ गते हुने


     एभरेस्ट आवाज    
     पौष ५ गते २०८१ मा प्रकाशित




पोखरा, पुस ५

पोखरामा वर्षेनी हुँदै आएको ‘टुर दी पोखरा’ले यस वर्षपनि निरन्तरता पाउने भएको छ । साइकल सिटी पोखराले साइकल संस्कृति बसाउने उद्देश्यले आयोजना गर्दै आएको ‘टुर दी पोखरा’को सातौं श्रृंखला यहि पुस १३ गते शनिबार हुने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नाराका साथ यस वर्षको टुर दी पोखरा कार्यक्रम हुने आयोजक साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले जानकारी दिए ।

साइकल सिटी पोखराले सन २०१५ मा ‘स्वस्थ मुटु सबैका लागि, जहिलेपनि जहाँपनि’ भन्ने नाराका साथ ‘टुर दी पोखरा’को शुभारम्भ गरेको थियो भने २०१६ मा ‘पावर योर लाईफ’, २०१७ मा ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ र सन २०१८ मा ‘बोसो पगाल, ईन्धन नबाल’, २०१९ मा ‘बर्न फ्याट नट फ्यूल’ भन्ने नाराका साथ आयोजना गरेको थियो । सन २०२० र २०२१ मा कोभिडका कारण रोकिएको यो कार्यक्रम सन २०२२ मा ‘थोपा थोपा ईन्धन बचाऔं’ भन्ने नाराका साथ भएको थियो ।

‘टुर दी पोखरा’मा यस वर्ष २४.५ किलोमिटर साइकल ¥याली हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । पोखरा सभागृहबाट शुरु हुने बृहद साइकल ¥याली पृथ्वीचोक, बुद्धचोक, रामबजार, अमरसिंहचोक, मियापाटन, गौंडाकोमुख, माटेपानी, रानीपौवा, महेन्द्रपल, पालिखेचोक, नदीपुर, बगर पिएन क्याम्पस गेट, भीमकालीपाटन, बगर ट्याक्सीचोक, वागबजार, विन्ध्यबासिनी मन्दिर, मोहरियाटोल, नालामुख, सिद्धार्थचोक, सृजनाचोक, जिरोकिलोमिटर, हल्लनचोक, लेकसाइड, सहिदचोक, राष्ट्रबैंकचोक, ड्यामसाइड, विरौटाचोक, मुस्ताङचोक, नागढुंगा, पृथ्वीचोक, नयाबजार, महेन्द्रपुल, न्यूरोडहुँदै पुनः पोखरा सभागृहचोक आएर समापन समारोहमा परिणत हुने साइकल सिटी पोखराका संस्थापक अध्यक्ष प्रकाश बज्राचार्यले जानकारी दिए ।

साइकल ¥यालीमा बच्चादेखि ७५ वर्षको बृद्धसम्मले सहभागिता जनाउने आयोजकको दाबी छ । संस्थापक अध्यक्ष बज्राचार्यले भने,‘उमेर हद छैन, ईच्छुक सबैले सहभागिता जनाउन सक्नुहुन्छ ।’ तर त्यसका लागि नाम दर्ता भने अनिवार्य गर्नुपर्ने उनले बताए । नाम दर्ता गर्दा १ हजार शुल्क लाग्ने र त्यसवापत आयोजकले टिसर्टसहित चिया, खाजा र खानाको व्यवस्था गर्ने उनले जानकारी दिए ।

‘टुर दी पोखरा’कार्यक्रमले साइकल संस्कृति बसाल्नुका साथै ईन्धन बचाउनका लागि महत्वपूर्ण योगदान दिने विश्वास आयोजकको छ । त्यसबाहेक पर्यटन प्रवद्र्धनमापनि टेवा पुग्ने संस्थाका सल्लाहकार तथा नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बताए । उनले भने,‘टुर दी पोखराले पोखरालाई पर्यटन गन्तव्य बनाउन र पर्यटकको बसाई लम्व्याउन सघाउँछ ।’ उनले यो ईभेन्टलाई अन्र्तराष्ट्रिय ईभेन्ट बनाउने योजना रहेको सुनाए । पोखराबाट शुरु भएको यस कार्यक्रमलाई बुटवल, काठमाडौं, नेपालगञ्ज, पाल्पालगायतका ठाउँहरुले पछ्याउँदै शुरुवात गरिसकेको उनको दाबी छ ।

पोखरामा लामो समयदेखि टुर दी पोखराको नाममा साइकल ¥याली गर्दै साईकल चढ्नेको जमात बढाउने कोशिष भएपनि सडकमा साईकल लेनमा अन्य सवारी साधन चलाउँदा साईकल चढ्नेले असुरक्षित महशुष गर्ने गरेका छन् । केहि सिमित ठाउँमा मात्रै साइकल लेन भएको र त्यसमापनि अन्य सवारी साधनले कब्जा गर्दा उनीहरुले असुरक्षित महशुष गर्नेगरेका हुन् । यस्तो परिस्थिति निर्माण हुनुमा राज्य पक्षको कमजोरी रहेको संस्थाका सल्लाहकार आनन्दराज मुल्मी बताउँछन् । उनी भन्छन्,‘साइकल लेनमा साइकल चल्छ भन्ने बुझाउन सकिएको छैन । राज्य पक्ष जिम्मेवार हुनुपर्छ । यहि कारण साइकल चढ्नेहरु बढेका छैनन् ।’

खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले टुर दी पोखरा कार्यक्रमले साइकल चढ्नुपर्छ भन्ने मान्यता स्थापित गर्न सफल भएको बताए । यसले पर्यटनमापनि सघाउ पुगेको उनको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।