पर्यटनको राजधानी घोषणापछि ‘पोखरा भ्रमण वर्ष’ घोषणा हुँदै, २० लाख पर्यटक भित्राउने लक्ष्य


     एभरेस्ट आवाज    
     फागुन १ गते २०८१ मा प्रकाशित




पोखरा, फागुन १

पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको छ । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त आयोजनामा एक वर्ष अगाडि पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको थियो । पर्यटनको राजधानी पोखरा भनेर गरिएको घोषणालाई सार्थक बनाउन पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष घोषणा गर्ने तयारी गरेको छ ।

यहि फागुन ३ गते शनिबार एक औपचारिक कार्यक्रम गरेर पोखरा भ्रमण वर्ष घोषणा गर्न लागेको पोखरा महानगरपालिकाले विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । पोखरा भ्रमण वर्ष–२०२५ मा मात्रै २० लाख पर्यटक भित्राउने लक्ष्य लिइएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।

पोखरा भ्रमण वर्ष सफल बनाउन र २० लाख पर्यटक भित्राउनका लागि पोखरामा राष्ट्रियस्तरका विभिन्न प्रतियोगिता तथा समिटहरु आयोजना गर्नुका साथै पर्यटन लक्षित ‘टुरिजम ईन्भेष्मेन्ट समिट’समेत आयोजना गर्ने मेयर आचार्यले जानकारी दिए । उनका अनुसार भ्रमण वर्ष सफल बनाउन तथा पर्यटक आकर्षित गर्न पर्यटन प्याकेजसमेत घोषणा गरिने उनले बताए । सो प्याकेज भ्रमण वर्ष घोषणा कार्यक्रममै सार्वजनिक गरिने उनको भनाई छ । पोखरा भ्रमणका लागि स्वदेशी तथा विदेशी दुबैलाई सपरिवार पोखरा घुम्न आउन आह्वान गरिने आचार्यले बताए ।

भ्रमण वर्ष सफल बनाउन विभिन्न विकास साझेदार, विदेशी नियोग तथा नेपालस्थित राजदुतावाससँग समन्वय गरी विभिन्न सहरमा पोखराबारे प्रचारात्मक अभियान चलाईनेपनि उनले जानकारी दिए । त्यसबाहेक कुटनीतिक नियोगसँग समन्वय गर्दै पोखरा भ्रमणको प्रर्वद्धन गरिदिन आह्वान गरिने महानगरको योजना रहेको उनले बताए । पोखरासँग भगिनी सम्बन्ध स्थापित भएका सहरका उच्चपदस्थ पदाधिकारीलाई पोखरा भ्रमण गर्न र गराउन औपचारिक निमन्त्रणा सहित पहलकदमी लिने महानगरको योजना छ । भ्रमण वर्षको अवधिभर स्वदेशका ५ र विदेशका ५ गरी थप १० सहरसँग भगिनी सम्बन्ध कायम गर्ने महानगरको योजना रहेको उनले बताए ।

पोखराको ब्राण्डिङ र मार्केटिङका लागि अभियान सञ्चालन गर्ने तथा भ्रमण वर्षलाई सहयोग पुग्ने विभिन्न प्रकाशन गर्ने पनि उनले बताए । गैरआवासिय नेपाली संघ (एनआरएनए) सँगको सहकार्यमा अन्तर्राष्ट्रियस्तरमा पोखरा भ्रमण वर्षको प्रर्वद्धनात्मक कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने योजना पनि रहेको महानगरले बताएको छ ।

पोखराबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयर कनेक्टिभिटी लागि आवश्यक पहलकदमी चलाउने र छिमेकी तथा स्वदेशभित्रैका मुख्य सहरमा सिधा उडानको व्यवस्था गर्न पहल गर्ने महानगरले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको २ वर्ष नाघेको भएपनि अन्तर्राष्ट्रिय उडानको अहिलेसम्म कुनै टुंगो छैन। विमानस्थल अहिलेसम्म आन्तरिक उडानमा मात्र सीमित छ।

त्यसैगरि मुक्तिनाथ क्षेत्रको प्रवेशद्वार निर्माण, बोटानिकल गार्डेन, एयरपोर्ट लेकसाईड द्रूतमार्ग, हेरिटेज साइड, पन्चासे क्षेत्र विकास, १० ताल जोडिने साइकल लेन, इन्ट्रान्स पार्क, फिर्के खोला, फेवा किनार विकास, अर्गानिक ट्रेल तथा रोयल ट्रेलको पुन उत्थान लगायतका पर्यटन क्षेत्रलाई टेवा पुग्ने विभिन्न पूर्वाधारको निर्माण तथा सुरुवात गर्ने मेयर आचार्यले बताए ।

नयाँ पर्यटकीय गन्तव्यको खोजी, स्थापना तथा महानगरको कम्तीमा १ वडा १ पर्यटकीय गन्तव्य स्थापित गर्दै प्रचार प्रसार गर्ने पनि महानगरले बताएको छ । पाहुनालाई स्वागत, बिदाइ र कोसेलीका रुपमा लिन दिन मिल्ने वस्तु तथा सामाग्रीको उत्पादन र विकासमा सहजीकरण गर्दै उद्योग वाणिज्य संघको सहकार्यमा कोसेली घर निर्माण गर्ने पनि महानगरले योजनामा समेटेको छ ।

पोखरा भित्रिने र बाहिरिने सबै बाटाहरु निर्माणको अन्तिम चरणमा पुगेकाले लक्ष्य भेट्न समस्या नहुने महानगरको दाबी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।