पोखरा पन्थी गल्लीमा फेन्सीको होलसेल ब्यापार गर्ने जीवन सिग्देलले अघिल्लो वर्षका दशैं नजिकका दिनहरुमा दैनिक ३ लाख भन्दा बढीको ब्यापार गर्थे । प्रत्येक दिन विहान ७ बजेदेखि राती ८ बजेसम्म कपडा किन्नेको भीड हुन्थ्यो । त्यसबेला समान देखाउन र किनेका सामान प्याकिङ गर्न उनलाई भ्याईनभ्याई हुन्थ्यो । त्यहि भएर उनले दशैंको बेलामा थप काम गर्ने कामदार थप्थे । तर उनलाई यस वर्ष अघिल्ला वर्षका दिनहरुमा झैं भ्याईनभ्याई छैन । पसल त अघिल्ला वर्षहरुमा झैं विहानदेखि नै खोल्छन् । तर ग्राहक पखाईबाहेक खास उपलब्धीमूलक छैन । त्यसैले उनले यस वर्ष थप कामदार थपेनन् ।
पन्थीगल्ली सर्वेश्वमार्गमा महिलाको मात्रै फेन्सी सामानको होलसेल ब्यापार गर्ने अनिलकुमार शाही ठकुरीकोपनि अघिल्ला वर्षका दशैं शुरु हुनुभन्दा ४÷५ दिन अघिदेखि महानवमीको दिनसम्मै ब्यापार हुन्थ्यो । ती दिनहरुमा दैनिक साढे २ लाख भन्दा बढीको ब्यापार हुँदा उनलाई सामान देखाउन, मिलाउन र किनेका सामानको प्याकिङ गर्नलाई धौधौ हुन्थ्यो । तर उनकोपनि यसपटक ब्यापार खस्किएको छ । उनीपनि ग्राहक कुर्न यस वर्षपनि दैनिक रुपमा विहानै पसल पुग्छन् तर बेलुका फर्किदा रित्तो हात त फर्किनु परेको छैन, तर ब्यापार भने उत्साहजनक छैन ।
पोखराको सबैभन्दा ठूलो सपिङ मल पोखरा ट्रेडमलको भुईंतलामा फेन्सीको रिटेल (खुद्रा) ब्यापार गर्दै आएका सन्तोष केसीपनि अहिले ब्यापारबाट निराश छन् । २ वटा सटर लिएर ब्यापार गर्दै आएका उनलाई अघिल्ला वर्षमा दशैं नजिकका दिनहरुमा एकछिन फुर्सद हुँदैनथ्यो । तर यस वर्ष उनी फुर्सद छन् । ब्यापार नभएपछि उनी पसलमा भाईलाई मात्र राखेर आफूचाहिं च्याङ्ग्रा बजारतिर टहलिन जाने गरेका छन् ।
सिग्देल, ठकुरी र केसीको मात्र होईन, यस वर्ष पोखराका अधिकांशको ब्यापार खस्किएको छ । यस वर्ष विश्वब्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) का कारण अघिल्ला वर्षको दशैंमा भन्दा करीब ७५ प्रतिशतसम्म ब्यापार खस्किएको ब्यबसायीहरु बताउँछन् । सिग्देल भन्छन्,‘पहिलेको दशैंमा हुने ब्यापारको अहिले २५ प्रतिशतपनि ब्यापार छैन ।’ पसल खोलौं भने खासै ब्यापार छैन,‘उनले भने,‘नखौलौं भने कतै ब्यापार भईहाल्छ कि भन्ने आश हुन्छ ।’
पोखरा ट्रेडमलमै फेन्सीको खुद्रा ब्यापार गर्ने गणेश गुरुङ भाडा तिर्न भएपनि पुग्छ कि भनेर पसल खोलेको बताउँछन् । दशैंको ब्यापारले वर्षभरिको खर्च धान्ने हो,‘उनले भने,‘तर यसपाली दशैंमा खासै ब्यापार भएन ।’ ‘ब्यापार नभएपनि पसल भने दैनिक रुपमा खुल्ला गरिएको उनको भनाई छ । आफ्नो ग्राहक अन्यकोमा नजाओस् भनेरपनि पसल त खोल्नै प¥यो नि !’ –उनले भने ।
कोरोनाको प्रभाव ब्यापारमा रिफ्लेक्ट भएको छ । बजारमा सामान्य चहलपहल भएपनि सामान किन्नेको खासै भीड छैन । कोरोनाका कारण मान्छेको आम्दानी घटेकाले सामान किन्न उनीहरुले रुची नदेखाएको हुनसक्ने विश्लेषण गरिएको छ । समाजशास्त्री विश्वकल्याण पराजुली समाज सँधै गतिशिल हुने भएकाले परिस्थिति अनुसार आफूलाई बदलिने भएकाले यस्तो भएको बताउँछन् । उनी भन्छन्,‘समाज कहिल्यै स्थिर हुँदैन, स्थिर भएमात्र अघिल्लो वर्षहरुमा जस्तो ग¥यो अहिलेपनि त्यस्तै हुन्थ्यो, तर समाज त सँधै नदीजस्तै बग्ने खालको भएकाले संक्रमणकालीन अवस्थामा रुप फेर्दै आफू अनुकुल बनाएकाले यस्तो भएको हो ।’ असमान्य अवस्थामा मनाइएको दशैंमा ब्यापार खस्किनुलाई सामान्य रुपमा लिनुपर्ने उनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







