दुर्घटनामा एकको मृत्यु, एकजना घाइते


     एभरेस्ट आवाज    
     फागुन ३ गते २०८१ मा प्रकाशित




साङ्केतिक तस्विर

फागुन ३ पर्वत । जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छामा आज दिउँसो भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा बिहादी–१ कमेरेका ५० वर्षीय बलबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा जिपका चालक घाइते भएका छन् ।

उकालो सडकमा जिपले ‘ब्रेक’ नलागेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ध १ च २८२ नंको जिप बागलुङको जैमिनीबाट कुश्मातर्फ फर्किने क्रममा बिहादी–१ बाच्छास्थित बाह्रबिसेमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कुश्मा नगरपालिका–१ मालढुङ्गाका ४५ वर्षीय चन्द्र माझी घाइते भएका प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए । घाइतेको टाउको, निधार र छातीमा चोट लागेको भन्दै उनले माझीको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको बताए । उनका अनुसार मृतकको शव परीक्षणका लागि पर्वत अस्पतालमा राखिएको छ ।

दुर्घटनालगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।