पसगाउँ महोत्सव फागुन १८ र १९ गते हुने


     एभरेस्ट आवाज    
     फागुन ४ गते २०८१ मा प्रकाशित




पोखरा, फागुन ४

लमजुङको पसगाउँमा फागुन तेश्रो साता पसगाउँ महोत्सव हुने भएको छ । लमजुङको क्होँलासोथर गाउँपालिका वडा नम्बर–६ मा पर्ने पसगाउँमा १५ औं संस्करणको पसगाउँ महोत्सव यहि फागुन १८ र १९ गते हुने भएको हो । महोत्सवको तयारी तिव्र रुपमा भइरहेको आयोजक पसगाउँ सामुदायिक होमस्टे व्यवस्थापन समितिले पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

ग्रामीण पर्यटनको विस्तार गर्ने हेतुले २०६० सालदेखि हुँदै आएको महोत्सवलाई यस वर्षपनि निरन्तरता दिईन लागेको क्होँलासोथर गाउँपालिका अध्यक्षसमेत रहेका पसगाउँ सामुदायिक होमस्टेका अध्यक्ष सूर्यप्रसाद गुरुङले जानकारी दिए । उनले स्थानिय कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्दै पर्यटक आकर्षित गर्न महोत्सव आयोजना गरिएको बताए ।

दुई दिन चल्ने पसगाउँ महोत्सवमा स्थानीय हस्तकला, साँस्कृतिक नाचगान साथै अर्गानिक खानाको स्वाद चखाईने आयोजकले जनाएको छ । लमजुङ हिमाल, अन्नपूर्ण लगायत हिमालय पर्वत शृंखलाका अनुपम दृश्य देख्न पाइने महोत्सव क्होम्रेडाँडालाई पिकनिक स्पटको रुपमा विकास गरिएको छ । खानेपानी, बिजुली बत्ती र सडक सञ्जालले पनि जोडेको क्होम्रेडाँडा पर्यटनको नया गन्तव्य बनेको उनले बताए ।

पसगाउँ पछिल्लो क्रममा पर्यटनको नया गन्तव्य बनेको अध्यक्ष गुरुङको भनाई छ । यहाँका १५० जना क्षमताको होमस्टे सुविधा रहेको उनले बताए । उनका अनुसार पसगाउँमा घर छाउने ढुंगा र गुरुङ संग्रहालयसमेत छ । त्यसबाहेक अर्गानिक पाँचऔंले, सतुवा, गुर्जो, कुरिलो, तामालगायतपनि पाईने उनले बताए ।

लमजुङका गुरुङ गाउँमध्येको एक पसगाउँ संस्कृति, प्रकृति र अर्गानिक खानाका लागि अनुपम रहेको संस्कृति संरक्षणकर्मी एकेन्द्र गुरुङले बताए । ‘गुरुङ संस्कृति र ग्रामीण पर्यटनको जान्न÷बुझ्न पसगाउँ पुग्नै पर्छ’–उनले भने । उनका अनुसार पसगाउँमा नाचिने सती घाँटु अन्त कमै मात्र नाचिन्छ ।

लमजुङ सदरमुकाम बेंसीसहरदेखि मालिङ, साल्मेभञ्ज्याङ हुँदै पसगाउँ पुग्न सकिन्छ । पोखरादेखि रामबजार गिलुङ हुँदै, पोखरादेखि थुम्सीकोट हुँदै, तनहुँको दमौली भोर्लेटार गिलुङ हुँदै र बेंसीसहरदेखि घलेगाउँ भुजुङ हुँदै पसगाउँ पुग्न सकिने अध्यक्ष गुरुङले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।