सांकेतिक तस्बीर
सरकारले प्राथमिकताका साथ पत्रकारहरुलाई पनि कोरोनाविरुद्धको खोप उपलव्ध गराउने भएको छ।
कोरोनाको महामारीबीच अग्रपंक्तिमा खटिएर जनतालाई सुसूचित गराउने काममा सक्रिय रहेका पत्रकारलाई खोप उपलब्ध गराउन लागेको हो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोनाविरुद्धको खोप लगाउने प्राथमिकताको सूचीमा पत्रकारलाई पनि थपेका हुन्। आवश्यक प्रक्रिया पूरा गरेर सोमबारबाट खोप केन्द्रहरुबाट पत्रकारहरुलाई खोप लगाउन थालिने सञ्चार मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले स्वास्थ्यकर्मीपछि सञ्चारकर्मी र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीको पालो आएको जानकारी दिए। उनका अनुसार सूचना विभागद्वारा वितरित प्रेस पासका आधारमा सञ्चारकर्मीलाई खोप उपलब्ध गराइनेछ।
त्यस्तै, कूटनीतिक नियोग एवं संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयका विदेशी कर्मचारीका परिवारलाई पनि खोप लगाइनेछ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, निजामती अस्पताल र पाटन अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको छ।
सरकारले भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याएको छ। हालसम्म १ लाख ८० हजारभन्दा बढीले खोप लगाइसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसअघिदेखि नै सरकारले सरसफाई कामदार, स्वास्थ्यकर्मी लगायत अत्यावश्यक सेवामा काम गर्नेहरुलाई खोप लगाउन थालिसकेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







