संविधान संसोधन गर्ने हो भने तमु, किराँत, मगर, नेवारको पहिचान झल्किनेगरी प्रदेशको नामाङ्करण गर्न प्रचण्डको प्रस्ताव


     एभरेस्ट आवाज    
     फागुन ९ गते २०८१ मा प्रकाशित




पोखरा, फागुन ९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिचानमा आधारित प्रदेशहरुको नामाङ्करण गर्न संविधान संसोधन गर्न सकिने बताएका छन् । तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम राष्ट्रिय भेलाको शुक्रबार पोखरामा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संसोधन गर्ने नै हो भने आदिवासी जनजातिहरुलाई पहिचानको अधिकार दिन गर्न सकिने बताएका हुन् । सत्तारुढ दलहरुले संविधान संसोधनको मुद्धा उठाईरहेको भन्दै उनले भने,‘संविधान संसोधन गर्ने हो भने तमुहरुको पहिचान, मगरहरुको पहिचान, किराँतहरुको पहिचान, नेवारहरुलगायतको पहिचान झल्किनेगरी प्रदेशहरुको नामाङ्करण गरौं । त्यसरी संसोधन गर्ने हो भने हामी तयार छौं ।’ यद्वपी अहिले भर्खरै पहिचानमा आधारित संविधान संसोधन हुने स्थिति नरहेको उनले प्रष्ट्याए ।

संविधान संसोधनका बेला नै आफूहरुले संविधानमा रिजर्भेसन राखेकोसमेत प्रचण्डले दाबी गरे । त्यतिखेरको अवस्थामा आफ्नो पार्टीको तागत नपुगेपछि सम्झौतामा संविधान बनाउनुका साथै प्रदेशको नामाङ्करण गरिएको बताउँदै उनले भने,‘पहिचानमा आधारित प्रदेशकोनामाङ्कण गर्ने कोशिष गरेकै हो । तर त्यसबेला हाम्रो तागत पुगेन । हामीलाई जति तागत चाहिन्थ्यो, त्यो तागत नपुगेपछि हामीले बाध्य भएर, मन नपर्दानपर्दैपनि कम्प्रमाईज गरेर पहिचानविहीन् प्रदेश मान्न बाध्य भयौं ।’ उनले माओवादीलाई पहिलो पार्टीबाट तेश्रो पार्टीमा झारिदिएपछि पहिचानमा आधारित प्रदेशको नामाङ्करण गर्ने चाहना हुँदाहुँदै र त्यसका लागि लड्दालड्दैपनि पहिचानको मुद्धा र नामाङ्करण गर्न सकेनौं ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले तमुवानको नामाङ्करण गर्न तत्कालीन मुख्यमन्त्री नमान्दा गण्डकीमा तमुवानको पहिचान झल्किनेगरी प्रदेशको नामाङ्करण गर्न नसकिएको बताए । हालका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङप्रति लक्षित गर्दै उनले भने,‘हामी शुरुमा तमुवान नामाङ्करण गर्न चाहन्थ्यौं । पछि तमुहरुकोपनि पहिचान झल्किने, गण्डकीपनि आउने गरी सम्झौता गर्नपनि खोज्यौं । तर यहाँ प्रदेश सभामा त्यस्तो सहमती हुन सकेन । प्रदेश सभाका तात्कालीन मुख्यमन्त्री जो नेकपा एमालेसँग सम्बन्धित हुनुहुन्थ्यो । उहाँ कुनै हालतमा तमुहरुको पहिचान झल्किनेगरी प्रदेशको नामाङ्करण गर्न तयार नभएपछि र हाम्रो शक्ति नपुगेपछि हामीले तमुहरुको पहिचान झल्किनेगरी प्रदेशको नामाङ्करण गर्न सकेनौं र गण्डकी प्रदेश भन्नु परेको हो ।’

अहिलेपनि जातीय पहिचानसहितको प्रदेश नामाङ्करणको पक्षमा आफूहरु रहेको भन्दै उनले त्यसका लागि लड्ने बेला आएको बताए । आफूले प्रधानमन्त्री भएका बेला अन्तिम पटक विश्वासको मत माग्दै गर्दा वर्गिय, क्षेत्रीय, लैंगिक, भौगोलिक तथा उत्पीडित समुदायको पक्षमा उभिने संकल्प गरेको स्मरण गराए । हामीले यी मुद्धाहरु छाडेको त होईन, तर दह्रोसँग नसमात्दा हेप्न थालेको आत्म समिक्षा गरेको छु,‘अब त्यसका लागि लड्ने बेला भयो । हामी लड्छौं, तपाईंहरु हामीलाई साथ दिनुहोला ।’ त्यसका लागि उत्पीडित जातीय र वर्गिय मोर्चा बनाएर लड्नुपर्ने भएकाले त्यसका पक्षमा उभिन उनले अपिलपनि गरे ।

अध्यक्ष प्रचण्डले कांग्रेस एमाले मिलेर महिला, दलित, आदिवासी, जनजाति, मधेशी र उत्पीडित वर्ग र समुदायको अधिकार कटौती गर्ने षडयन्त्र गरिरहेको आरोप लगाए । यी वर्ग र समुदायले माओवादीको जनयुद्धमार्फत प्राप्त गरेको अधिकार कांग्रेस, एमालेले नरुचाएको भन्दै त्यसलाई मास्ने षडयन्त्रमा उनीहरु लागेको उनको आरोप छ । एमाले सबैभन्दा प्रतिगामीतर्फ उद्यत रहेको भन्दै उनले भने,‘यथास्थितिवादीहरु कांग्रेस र एमाले र त्यसमापनि एमाले प्रतिगामी हुनेतर्फ उद्यत देखिन्छ । पटक पटक संविधान मिचेर, संसद विघटन गर्नेदेखि अहिलेपनि कुनै न कुनै रुपमा संविधान संसोधनका नाममा प्रतिगमनतर्फ जाने सोंचमा छ ।’ उनले नेपाली जनताले दुत्कारेर ईतिहासको कुना टोकरीमा मिल्काएका तत्वहरु अहिले फेरी सल्बलाउन थालेको टिप्पणी गरे । पूर्व राजा ज्ञानेन्द्रतर्फ लक्षित गर्दै उनले भने,‘संघीय लोकतान्त्रिक गणतन्त्रमा आएर दुईवटा आम निर्वाचन भइसक्दापनि प्रतिगामी र प्रतिक्रान्तिकारी केहि तत्वहरुले फेरी फर्किने कोशिष गर्दैछन् ।’ त्यसैले जनता जागरुक भएर एकताको तागत प्रदर्शन गरेर देशलाई प्रतिगमनतर्फ र निरंकुशतातर्फ अगाडि बढ्नबाट रोक्नुपर्ने उनले बताए । एकताको तागत देखाउने बेला आयो,उनले अगाडि थपे,‘संविधानमा नअटाएका आफ्ना बाँकी रहेका अधिकार खोस्नको लागि फेरी आन्दोलित हुनुपर्ने समय आउन लाग्यो । त्यसो भयो भनेमात्र प्रतिगामी र निरंकुशतातर्फ जान खोजनेलाई ठेगान लगाउन सकिन्छ ।

२०८४ सालको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेलाई गठबन्धन गरेर चुनाव लड्न चुनौती दिए । म चाहन्छु उनीहरू मिलून्,उनले भने,‘कांग्रेस र एमाले दुईवटै मिलेर चुनाव लड्छन् भने लडून् । हामी तिनकाबिरुद्ध जनतासँग मिलेर उनीहरुको भण्डाफोर गर्छौं । बहुमत ल्याउँछौं ।’ उनले २०८४ सालसम्म अब आफू प्रधानमन्त्रीपनि नहुने र पार्टी सरकारमापनि नजाने बताए । ‘प्रधानमन्त्री त हुने कुरै छैन । तर सरकारमा होईन, जनतामा जान्छौं ।’

माओवादी केन्द्रका महासचिव देव गुरुङले समाजवादी क्रान्तिको तयारीमा पार्टी रहेको बताए । त्यो समाजवादी क्रान्ति सफल बनाउने जिम्मेवारी पार्टी र जातीय संगठनको भएको बताउँदे उनले भने,‘समाजवादी क्रान्ति पूरा भयो भनेमात्र वर्गिय, क्षेत्रीय, जातीय, लैंगिक, सिमान्तकृत समुदायले न्याय पाउने र देशमा समानता कायम हुन्छ ।’ उनले माओवादीले जातीय कुरा उठाएको भन्दै आलोचना गर्नेहरुले वर्गिय मुद्धा बुझ्न नचाहेको बताए । उनले भने,‘जातीय समस्या भनेकै वर्ग समस्याको एउटा रुप हो । नबुझ्नेहरुले माओवादीले जातीय मुद्धा उठायो भनेर खिसिट्यूरी गरिरहेका छन् ।’

तमु राष्ट्रिय मुक्ति मोर्चाकी ईञ्चार्ज ओनसरी घर्तीले समाजवादी क्रान्तिसँगै जातीय मुक्ति र पहिचानका लागि लड्नुपर्ने आवश्यक्ता रहेको बताईन् ।

तमु राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलनमा देशभरबाट करीब २ सय प्रतिनिधि पोखरा आएको मोर्चाका अध्यक्ष बखानसिंह तमुले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।