फागुन २१ पोखरा । झण्डै ३ करोड रुपैयाँ दान संकलन गर्दै सराङकोटमा आयोजित श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव सम्पन्न भएको छ ।
गत फागुन १४ गते महाशिवरात्रीको दिनदेखि शुरु भएको महायज्ञमा कुल २ करोड ८८ लाख बढी दान संकलन भएको प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापाले जानकारी दिए । थापाका अनुसार आज बुधबार मात्रै ८० लाख बढी दान संकलन भएको छ ।
आज महायज्ञको नियमित कार्यक्रमका अतिरिक्त पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यबाट त्यहाँ निर्मित बुहुउद्देश्यीय सामुदायिक भवनको उद्घाटन गरेका छन् ।
सो अवसरमा बोल्दै महानगर प्रमुख आचार्यले सराङकोट धामको रुपमा विकास भएकोमा खुःशी व्यक्त गरे । उनले पोखरा भ्रमण वर्ष सफल बनाउन सराङकोट धामले भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भने, ‘अब पर्यटक हिमाल हेर्न, सुर्योदय र सुर्यास्तको अवलोकन गर्न मात्रै सराङकोट आउने होइन, यो अव कोट मात्रै रहेन, सराङकोटमा अन्य धेरै आयाम थपिएका छन् ।’ प्रमुख आचार्यले सराङकोटमा निर्माण गर्न बाँकी संरचना बनाउन महानगरले सहयोग गर्ने विश्वास दिलाउँदै सराङकोट धार्मिक पर्यटकीय स्थल भएको औँल्याए ।
सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले सबैको साथ सहयोगबाट महायज्ञ सफल भएको बताए । उनले आगामि दिनमा पनि सहयोगको अपेक्षा व्यक्त गरे । ‘वास्तवमै सराङकोट स्वर्गको टुक्रा हो, यसको हामी सबै मिली संरक्षण एवम् प्रवद्र्धन गर्नुपर्दछ, त्यसैमा आम पोखरेलीको कल्याण छ ।’, उनले उल्लेख गरे ।
सो अबसरमा यज्ञका सहअध्यक्ष समेत रहेका वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले धेरै दानदाताको सहयोगबाट सराङकोट धाम सिञ्चीत भएको स्पष्ट पार्दै उत्साहजनक सहभागिताका बीच यज्ञ सफल भएको धारणा व्यक्त गरे ।
कार्यक्रममा प्रमुख वाचक भागवत् भाष्कर प.कमलनयन गौतम सहित सहयोगी विभिन्न संघसंस्था एवम् व्यक्तिलाई सम्मान गरिएको थियो ।
महायज्ञमा कास्की, तनहुँ, पर्वत, स्याङजा, बाग्लुङ, म्याग्दी, धादिङ समेतबाट गरी करिव १ लाख ६० हजार भक्तजनले सहभागि जनाएको महायज्ञका महासचिव शम्सेरबहादुर थापाले जानकारी दिए ।
सराङकोटमा वि.स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ । यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको जीवन्त धरोहरका रूपमा रहेको ऐतिहासिक कार्तिक…







