पोखरा, जेठ १०
म्याग्दीको बेनीका व्यवसायीहरु पोखराबाटै सामान खरिद गर्न ईच्छुक देखिएका छन् । प्रायः काठमाडौंबाटै सामान ल्याउने गरेका उनीहरु पोखराबाटै सामान खरिद गर्न ईच्छुक देखिएका हुन् । उत्तरी छिमेकी जिल्लाहरुको भ्रमणमा गएको पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिसँगको छलफलमा बेनीका व्यवसायीहरुले ढुवानीमा सहजता भए पोखराबाटै सामान खरिद गर्न आफूहरु तयार रहेको बताए । पोखरा दुरीका हिसाबले नजिक भएकाले पोखरामा सामान खरिद गर्दा समयपनि बचत हुने उनीहरुको भनाई थियो ।

यसअघि बागलुङका व्यवसायीलेपनि ढुवानी सहज बनाएर सस्तो र गुणस्तरिय सामानको ज्ञारेन्टी भए आफूहरु पोखराबाट सामान खरिद गर्न तयार रहेको बताएका थिए । उनीहरुकोजस्तै भनाई बेनीका व्यवसायीहरुलेपनि दोहो¥याएका हुन् ।
बेनी उद्योग वाणिज्य संघका अध्यक्ष राजेश शाक्यले पोखरामै सामान खरिद गर्ने वातावरण मिलाउन सके काठमाडौं जानुपर्ने झञ्झटबाट बेनीका व्यवसायीले मुक्ति पाउने बताए । पोखराबाटै सामान खरिद गर्न पाउनु हाम्रो लागि खुशीको कुरा हो,उनले भने,‘तर ढुवानी केहि असहज छ, यसलाई सहज बनाउनुपर्छ । अनि सस्तो र गुणस्तरिय सामान हुने ज्ञारेन्टी हुनुप¥यो ।’
कपडा तथा फेन्सी व्यवसायी संघ म्याग्दीका अध्यक्ष दामोदर शर्माले अहिलेपनि बेनीका व्यवसायीहरुले पोखराबाटै सामान खरिद गर्नेगरेको उल्लेख गरे । तर पोखरामा सामान खरिद गर्दा ढुवानीको समस्या हुने गरेकाले यसको समाधान खोज्न उनले सुझाव दिए । हामीपनि पोखराबाटै सामान खरिद गर्न चाहन्छौं,उनले भने,‘मुख्य कुरा काठमाडौं भन्दा सस्तो हुनुप¥यो, अनि गुणस्तर कायम भयो र ढुवानी सहज भयो भने काठमाडौं धाईरहनुपर्ने बाध्यता हामीलाईपनि हट्छ ।’
छलफलमा बोल्दै सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले पोखराको सर्वेश्वर मार्ग र पराजुली मार्गका व्यवसायीले काठमाडौंकै मूल्यमा पोखरामै होलसेलमा सामान बिक्री गर्नेगरेको बताए । चीन, हङकङ, थाईल्याण्ड, भारत, बंगलादेश लगायतका देशहरु तथा उद्योगहरुबाटपनि सिधै सामान ल्याईने भएकाले पोखरामै सस्तोमा सामान पाईने उनको भनाई थियो । ‘सस्तो र गुणस्तरमा चिन्ता नलिनूस्’–उनले भने । बरु ढुवानीलाई सहज बनाउन आफूहरु तयार रहेको उनले प्रतिबद्धता जनाए । सर्वेश्वर मार्ग पराजुली मार्गलाई सामान खरिदको गन्तव्य बनाउनूस्,उनले भने,‘हामी ढुवानी सहज बनाउन तयार छौं ।’
सर्वेश्वर मार्ग र पराजुली मार्गमा आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामानहरु, फेन्सी तथा रेडिमेड सामानहरु, श्रृंगारका सम्पूर्ण कस्मेटिक सामानहरु, काचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामानहरु थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको समितिका बरिष्ठ उपाध्यक्ष छवीलाल गौतमले बताए ।
होलसेल तथा खुद्रा दुबै व्यापार हुने सर्वेश्वर मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुम सम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १० एवन ग्रेटर नेपाल यातायात प्रालिले दुर्घटना नगराउने चालकहरुलाई…







