जन्मदर्ता र नागरिकता सिफारिसका लागि पोखराका एक वडा सचिवले मागे तीन लाख घुस !

- जुत्ताको माला र कालोमोसो दल्न खोजेपछि वडा छाडेर भागे


     एभरेस्ट आवाज    
     जेठ ११ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, जेठ ११

पोखरा महानगरपालिका वडा नम्बर–३ का वडा सचिव मोहन ढुंगानामाथि घुस मागेको आरोप लागेको छ । अदालतको आदेश अनुसार छोरीको जन्मदर्ता गर्न र नागरिकताका लागि सिफारिस माग्न वडा कार्यालय पुगेका सेवाग्राही मिरा पुनसँग वडा सचिव ढुंगानाले ३ लाख घुस मागेको आरोप लागेको हो । घुस मागिएकी सेवाग्राही एकल महिला हुन् ।

जिल्ला अदालत र उच्च अदालत धाएको ६ वर्षपछि श्रीमानसँग उनको नाता प्रमाणित भएको थियो भने मानाचामल भराउने आदेश आएको थियो । सोहि आदेशका आधारमा छोरीको जन्मदर्ता लिन वडा कार्यालय पुगेकी उनलाई वडा सचिवले विभिन्न बहाना बनाएर डेढ महिना झुलाउँदै घुस मागेको आरोप छ । पीडित पुनका अनुसार वडा सचिवले प्रमाण र कागजात पुगेको भएपनि जन्मदर्ता र नागरिकता सिफारिसका लागि तीन लाख मागेका थिए । तर आफूसँग त्यत्रो रकम छैन भन्दा डेढ लाख रुपैयाँ दिएमा छोरीको जन्मदर्ता मात्रै भएपनि गराईदिने वचन दिए । तर त्यत्रो रकमपनि आफूसँग नभएपछि आफूले ५० हजार मात्रै दिनसक्ने बताएको तर त्यतिमा वडा सचिव नमानेको उनको दाबी छ । मैले ५० हजार मात्रै दिनसक्छु भनेँ,उनले भनिन्,‘तर त्यतिले पुग्दैन भन्दै डेढ महिना झुलाईरहे ।’ मैले के कागजात पुगेन र पैसा माग्नु भएको हो भनेर सोंधे,उनले अगाडि थपिन्,‘मैले कागजात पुगेन भनेको छु र ? कागजात नपुगेको होईन, मिलाउन अलिकति रकम दिनुपर्छ मात्र भनेको हुँ भनेर वडा सचिव ढुंगानाले भन्नुभयो ।’

पीडित पुनले वडा सचिव ढुंगानाले आफूलाई घुससँगै मानसिक तनावपनि दिएको गुनासो गरिन् । वडामा जाँदा मोवाईल लिएर जान नदिने तथा शरिर खानतलासी गर्नेसम्मको हर्कत गरेको उनको आरोप छ । वडा सचिवको कार्यकक्षमा जाँदा मोवाईल लिएर जानै नदिने,उनले भनिन्,‘मोवाईल थुतेर बाहिर नै राखिदिने, अनि शरिरपनि खानतलासी गरेरमात्रै भित्र जान दिने गरे ।’ घुस मागेको भ्वाईस रेकर्ड गर्छ कि भन्ने शंकाले मोवाइल राख्नेदेखि शरिर खानतलासी गरेको उनको भनाई छ । त्यतिमात्र होईन वडा सचिवले गोप्य कुरा गर्न भन्दै रेष्टुरेण्टमासमेत भेट्न बोलाएर हजारौंको बिल तिराएको उनले बताईन् । पोखराको महेन्द्रपुल स्थित मारवाडी भोजनालयमा साँझ ५ बजेपछि बोलाए,उनले भनिन्,‘त्यहाँ बिना कारण बार्गेनिङ गर्दै राती ९ बजेसम्म राखे । बसुञ्जेल मन परेका परिकारहरु खाए अनि निस्कने बेलामा एक झोला मिठाईपनि लगे ।’ उनले त्यो बसाईमा मिठाईको मात्र ३ हजार १ सयको बिल तिरेको दाबी गरिन् ।

वडा सचिव ढुंगानाले घुस मागेको सकारेका छन् । उनले बोलेको एक भिडियोमा आफू प्रलोभनमा परेको स्विकारेका हुन् । आफैले घुस नमागेको भन्दै उनले अगाडि भनेका छन्,‘सेवाग्राहीले नै पैसा दिन्छु भनेपछि लिन्छु मात्र भनेको हुँ । तर मैले त्यस्तो गर्नु हुँदैन थियो ।’

पीडित पुनले घुस काण्डमा वडाध्यक्ष प्रकाश उदास र वडाका अर्का कर्मचारी विकास पुनको पनि संलग्नता रहेको दाबी गरेकी छिन् । उनले भनिन्,‘पछिल्लो समय सबै कुरा विकाससँग गर्नु भन्नुहुन्थ्यो । अनि वडाध्यक्षलाईपनि भाग दिनुपर्छ भन्नुहुन्थ्यो ।’

यसैबीच, आईतबार वडा सचिव ढुंगानालाई जुत्ताको माला र कालोमोसो लगाउने प्रयास भएको छ । पीडित महिलालाई लिएर पुगेका पुन समाज र नदीपुर तथा तेर्सापट्टीका महिलाहरुले ढुंगानालाई जुत्ताको माला र कालोमोसो लगाउने प्रयास गरेका हुन् । तर चतुर वडा सचिव आफूमाथि दुव्र्यवहार हुने सुईंको पाएपछि वडा छाडेर भागेको स्थानिय रजनी श्रेष्ठले बताईन् । अदालतले दिनू भनेर आदेश दिएपछि वडाले किन रोक्यो ? प्रश्न गर्दै उनले भनिन्,‘महिलाले न्याय पाउनु प¥यो । दोषिमाथि कारवाहीपनि हुनुप¥यो ।’

वडाध्यक्ष प्रकाश उदासले भने घुस काण्डमा आफूलाई मुछ्नु बेकारको कुरा भएको बताए । घुस काण्डमा आफ्नो संलग्नता अस्वीकार गर्दै उनले भने,‘योबारे मलाई केहिपनि जानकारी छैन ।’ उनले आफूमाथि घुस मागेको प्रमाणित गरे जस्तोसुकै कारवाही भोग्न तयार रहेको बताए । वडा सचिव आफैले घुस मागेको स्वीकारेको देखिएको भन्दै उनले भने,‘यदी यो सत्य हो भने वडा सचिव ढुंगानामाथि कारवाही हुनुपर्छ । मेरोपनि संलग्नता देखियो भने म माथिपनि कारवाही होस् । तर नाम जोडेर बदनाम मात्रै नगरियोस् ।’

वडा सदस्य नवीन थापा मगरले घुस काण्डमा जो जो संलग्न हो ति सबैमाथि कारवाही हुनुपर्ने बताएका छन् । वडामा पहिलेदेखि नै घुस काण्ड चल्नेगरेको गाईंगुईं हल्ला चलेको तर वडाध्यक्ष मौन बसेको भन्दै उनले आईतबार वडाध्यक्षको टेबलमा मुड्कीसमेत ठोकेका छन् । घुस काण्डले वडा नम्बर–३ को साथै समग्र जनप्रतिनिधिको बेईज्जत गरेको उनको भनाई थियो ।

वडा सचिव भागेपछि पीडित पक्षले दोषिमाथि कारवाही र पीडित महिलालाई न्याय दिन माग गरेका छन् । पीडित महिलाको छोरी निस्मा पुनको जन्मदर्ता र नागरिकताको सिफारिस गरिदिनुपर्ने पीडित पक्षकी शारदा प्रजूले बताईन् । त्यसमा वडाध्यक्ष उदासपनि सहमत भएका छन् । मपनि पीडित महिलाको न्यायको पक्षमा छु,उनले भने,‘नागरिकता सिफारिस र जन्मदर्ता मैले गर्ने होईन, नया वडा सचिव आएपछि मिल्ने रहेछ भने दिनलाई भन्छु । वडा सचिव आउन ढिलाई हुने भयो भने महानगरको पञ्जाधिकारीले हेरेरपनि दिनसक्छ त्यसका लागि म पहल गर्छु ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।