पोखरा, जेठ १५
पोखराका दुई मुर्धन्य व्यक्तिहरु सक्तभक्त र तीर्थ श्रेष्ठको कविता कृति विहीबार लोकार्पण गरिएको छ । पोखरामा बसेर राष्ट्रिय छवि बनाउन सफल व्यक्तित्व सरुभक्तको ‘सर्वहारा धरतीभरी यज्ञका काला घोडाहरु’ र श्रेष्ठको ‘हिउँमा लेखिएका नामहरु’को आज एक औपचारिक कार्यक्रम गरि लोकार्पण गरिएको हो । पोखरेली युवा सांस्कृति परिवारको आयोजनामा भएको कार्यक्रममा सर्जक द्वय सरुभक्त र श्रेष्ठसँगै बरिष्ठ कलाकार तथा कार्टुनिष्ट दुर्गा वराल वात्स्यायन, बरिष्ठ लोक गायीका हरिदेवी कोईराला, नेवा खलः कास्कीका अध्यक्ष तथा समाजसेवी अशोक पालिखे, पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)का कार्यवाहक अध्यक्ष लक्ष्मण थापा र बुक हिल पव्लिकेसनका भुपेन्द्र खड्काले एकसाथ दुई पुस्तकको लोकार्पण गरेका थिए ।
विहीबार लोकार्पण भएको सरुभक्तको ‘सर्वहारा धरतीभरी यज्ञका काला घोडाहरु’ कविता कृति १४६ पेजको छ । जहाँ सरुभक्तका ५२ वटा कविताहरु समावेश छन् । त्यस्तै तीर्थ श्रेष्ठको ‘हिउँमा लेखिएका नामहरु’को कविता कृति ९६ पेजको छ, जहाँ ५८ वटा कविताहरु संग्रहित छन् ।
लोकार्पण कार्यक्रममा श्रष्टा द्वयले एकले अर्कोको व्यक्तित्व र कृतित्वको प्रशंसा गरे । बाल्यकालका बालसखा, विद्यार्थी जिवनका सहपाठी तथा साहित्यिक क्षेत्रका एकअर्काका साक्षी उनीहरुले कार्यक्रममा एकले अर्काको कृतित्वको चर्चा गर्दै प्रशंसामा धेरै समय खर्चिए ।
कार्यक्रममा बोल्दै कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले आफू असफल व्यक्ति भएपनि संगतले राम्रो हुन पाएको बताए । म सामान्य व्यक्ति हुँ र कतिपय विषयमा असफल व्यक्तिपनि हुँ,उनले भने,‘तर सरुभक्त, दुर्गा बरालजस्ता व्यक्तित्वहरुको संगतले सच्चिएको व्यक्ति हुँ ।’ उनले सरुभक्तलाई समकालीन युगको महापुरुषको संज्ञा दिए । भने,‘सरुभक्त मेरो युगको महापुरुष हो । जो असाधारण व्यक्तित्व हो । समकालीन कविहरुमा सबैभन्दा कृयाशिल, सरल र बौधिकपनि छ ।’ उनले सरुभक्तको कविता क्लिष्टमा बुझ्नै नसकिने खालको दिमाग हल्लाउने कविता र गीतपनि रहेको र सरलमा ह्रृदय छुनेपनि आफूले पाएको बताए ।
सरुभक्तले कवि तीर्थ श्रेष्ठका कविता सह्रदय र सरल रहेको बताए । उनको शव्दको गहिराई, भावमा महासागर र काव्यात्मक शैली साँच्चिकै उच्चतम कोटीको भएको बताए । श्रेष्ठको कवितामा मिठाससँगै ह्रदय छुने खालको भएकाले युवादेखि बृद्धसम्मको मन जित्न सफल भएकोपनि उल्लेख गरे । उनले भने,‘समकालीन कविहरुमा देश, समाज र जीवनका सबै पाटाहरुलाई स्पर्श गर्नसक्ने कवि हो ।’ श्रेष्ठको ‘हिउँमा लेखिएका नामहरु’ शिर्षक कवितासँग आफ्नो जीवनको सम्झनासँग सम्बन्ध रहेकालेपनि यो प्रिय रहेको बताए ।
बरिष्ठ कलाकार तथा कार्टुनिष्ट दुर्गा बराल वात्स्यायनले पोखराको मात्र नभई देशकै साहित्यिक क्षेत्र सिंचित गर्न सरुभक्त र श्रेष्ठको महत्वपूर्ण योगदान रहेको चर्चा गरे ।
बरिष्ठ लोक गायीका हरिदेवी कोईरालाले सरुभक्त र तीर्थ श्रेष्ठको नया कविता कृति देशका लागि अमूल्य रहेको बताईन् । तालको छाल र हिमालले मात्र होईन,उनले भनिन्,‘उहाँहरुजस्तो मूर्धन्वय व्यक्तित्वका कारणलेपनि पोखराले उचाई पाएको छ ।’
नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले पोखरामा सरुभक्त र तीर्थ श्रेष्ठ छ भन्दा मात्रैपनि छाती गर्वले फुल्लिने बताए ।
पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)का कार्यवाहक अध्यक्ष लक्ष्मण थापाले आधुनिक र प्रयोगवादी कवि सरुभक्त तथा देशप्रेमी र तरलतावादी कवि तीर्थ श्रेष्ठको कविता एकैदिन एकसाथ लोकार्पण गर्न पाउनु अहोभाग्य भएको बताए । उनले भने,‘यो गज्जवको काव्यात्मक संयोग हो ।’
बुक हिल पव्लिकेसनका भुपेन्द्र खड्काले दिमाग हल्लाउने खालका कविता लेख्ने सरुभक्त र ह्ृदय छुने कविता लेख्ने तीर्थ श्रेष्ठको कविता एकैदिन, एकसाथ लोकार्पण हुनु साहित्य अनुरागीका लागि गर्वको विषय भएको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







