गण्डकीबाट शुरु सार्वजनिक सवारी साधन नचलाउने यातायात व्यवसायीहरुको आन्दोलन भोलिदेखि देशव्यापी हुने


     एभरेस्ट आवाज    
     जेठ १८ गते २०८२ मा प्रकाशित




पोखरा, जेठ १८

सार्वजनिक यातायात व्यवसायीहरुले भोलिदेखि देशैभर यातायातका सवारी साधन नचलाउने घोषणा गरेका छन् । राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिनेगरी गण्डकी प्रदेश सरकारले नियमावली बनाएर कार्यान्वयनमा ल्याएको विरोधमा उत्रिएका व्यवसायीहरुले भोलिदेखि आन्दोलनलाई देशव्यापी बनाउने घोषणा गरेका हुन् ।

यसअघि गण्डकी प्रदेशमा मात्र सिमित आन्दोलनलाई अब भोलिदेखी देशब्यापी बनाउने
सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै जनाएका हुन् । उनीहरुले भोलिदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने जनाएका छन् ।

गण्डकी प्रदेश सरकारले संविधानको धारा ५७ को उपधारा ६ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ बिपरित नीजि सवारीलाई सार्वजनिक यातायात सरह मान्यता दिएको भन्दै व्यवसायी रुष्ट छन् ।

प्रदेश सरकार र संघ सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले बाध्य भएर सेवा बन्द गर्न लागिएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ,‘आजसम्म पनि नेपाल सरकारले सुनुवाइ नगरेको हुँदा बाध्य भइ हाम्रा सवारी साधन मिति २०८२÷२÷१९ गतेदेखि घर, ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरिएको’। सेवा ठप्प हुँदा यात्रु तथा सरोकारवाला पक्षलाई पर्न जाने असुविधाको जिम्मा पनि सरकारले लिनुपर्ने उनीहरुले चेतावनीसमेत दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।