बैकल्पिक मार्ग निर्माणले पोखरा–३३ बाघमाराको बाटो समय छोट्टियो

- स्थानिय उत्पादनले बजार पाउने थाले


     एभरेस्ट आवाज    
     जेठ ३१ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, जेठ ३१

पोखरा महानगरपालिका वडा नम्बर–३३ बाघमारामा सुविधा सम्पन्न बाटो निर्माण भएपछि स्थानिय हर्षित भएका छन् । वर्षौंदेखि जिर्ण सडकमा हिंड्न बाध्य उनीहरु अहिले पोखरा महानगरपालिकाको पहल तथा विश्वबैंकको सहयोगमा दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडक खण्ड बन्न थालेपछि हर्षित भएका हुन् । पृथ्वी राजमार्ग अन्तर्गत कोत्रेबाट दोबिल्लाहुँदै विरौटा निस्किएर स्याङ्जा जाने बैकल्पिक सडकका रुपमा हेरिएको यो सडकको भौतिक प्रगती पुगनपुग ४० प्रतिशत हुँदा मात्रैपनि यसले स्थानियको जीवनमा सकारात्मक प्रभाव पार्न थालेको छ । बाघमारा क्षेत्रमा भने सडक पिच भइसकेको छ भने सौन्दर्यकरणको काम भइरहेको छ ।

सडक निर्माणसँगै बाघमारा–पोखराको बाटो समय अवधि छोट्टिएको छ । जसले गर्दा पोखरामा जागिरे भएकालाई घरबाटै आवतजावत गर्न सजिलो भएको छ । भने स्थानिय उत्पादनलाई पोखरा बजारसम्म ल्याउन सहज भएको छ । यसले समय छोट्टिनुका साथै स्थानिय उत्पादनले बजार पाएको पोखरा महानगरपालिका वडा नम्बर–३३ का अध्यक्ष रामचन्द्र अधिकारीले बताए । उनले भने,‘बाटो राम्रो भएपछि स्थानिय उत्पादनले बजार मात्र पाएन, मूल्यसमेत पाएको छ ।’ उनका अनुसार बाटो बनेसँगै बाटोको समयअवधी घटेसँगै ढुवानी खर्चपनि घट्नुका साथै यसले रोजगारीपनि सिर्जना गरेको छ । कृषिमा स्थानिय आकर्षितहुँदा लगानीपनि बृद्धि भएका कारण यसले रोजगारीसमेत बढाएको उनको दाबी छ ।

जनप्रतिनिधि लिलादेवी केसीले सडक निर्माण भएसँगै स्थानिय जनता कृषिमा आकर्षित भएको बताईन् । पहिलेपनि कृषि नै थियो स्थानियको मुख्य पेशा, तर स्थानिय उत्पादनले बजार नपाउँदा निराश थिए,उनले भनिन्,‘अहिले सडक निर्माणले गर्दा उत्पादित वस्तु सिधै पोखरा लगेर बेच्दा खपत बढेको छ, र पहिले भन्दा मूल्यपनि बढी पाएपछि उहाँहरु कृषिमा पुनः आकर्षित हुनु भएको छ ।’

पोखरा–३३ पहिले सुन्तला खेतीका लागि प्रख्यात थियो । तर अहिले सुन्तलामा रोग लागेर मासिदै गएपछि मौषमी तथा बेमौषमी तरकारी खेतीमा आकर्षित भएको उनले जानकारी दिईन् । सडक निर्माणसँगै कृषि एम्बुलेन्सलेसमेत स्थानिय उत्पादन बजारसम्म लैजान सघाउने गरेको उनले बताईन् । उनले भनिन्,‘उत्पादित तरकारी लिन कृषि एम्बुलेन्स आउँछ । कतिपयले भने आफैले पोखरा लगेर बेच्छन् ।’

स्थानियले सडक छिटो सम्पन्न गर्न दवाब दिने गरेको वडाध्यक्ष रामचन्द्र अधिकारीले बताए । सडकको दायाँबायाँ लगाइएको मापदण्डमा स्थानियको चित्त नबुझ्दा सडक निर्माणमा ढिलाई भएपनि अब भने निर्माणले रफ्तार लिने उनको विश्वास छ । हाम्रो वडामा धेरैजसो समस्या समाधान भइसकेको छ,उनले भने,‘सायद अब चाँडै निर्माण सम्पन्न होला ।’

पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यको पहलमा निर्माण गरिएको यो सडक खण्ड १२.४४ किलोमिटरको छ । यसको निर्माण गर्ने ठेक्का आशिष निर्माण सेवाले ७७ करोड ६८ लाखमा लिएको छ । गत असारमा एक वर्ष भित्रमा बनाईसक्ने भनिएपनि विभिन्न कारणले नसकिएपछि एक वर्ष म्याद थपिएको छ । यस सडक खण्डमा सडकको दायाँबायाँ साइकल ट्रयाक निर्माण गरिनेछ भने सडकमा फुटपाथपनि रहनेछ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो खण्डसँगै पोखरामा विश्वबैंकको सहयोगमा ३ वटा सडक निर्माण भइरहेको बताए । उनका अनुसार तालचोक–बेगनास र शिसुवा–सिसाघाट सडक खण्डपनि निर्माणको क्रममा रहेको छ । पोखराले क्रमैसँग भौतिक पूर्वाधारमा फड्को मारिरहेको उनले बताए । तर केहि मान्छेहरु केहि भएन भनेर भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ,उनले भने,‘भए, गरेका कामलाई ए गरेछ है भनेर स्याबास् भन्ने गरौं । पोखरामा विश्वबैंक, एसियाली विकास बैंक, जाईकालगायतको सहयोगमा २७ अर्ब लगानी भित्रिएको र आयोजना सम्पन्न भएपछि पोखराले विकासमा छलाङ मार्ने उनको दाबी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।