नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटी अध्यक्षमा भण्डारी, जनार्दन समूह प्यानल नै पराजित


     एभरेस्ट आवाज    
     असार १ गते २०८२ मा प्रकाशित




पोखरा, असार १

नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीमा जनार्दन समूहलाई पराजित गर्दै प्रचण्ड पक्ष प्यानल नै बिजयी भएको छ । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको तेस्रो अधिवेशन अन्तर्गत आईतबार भएको निर्वाचनमा संस्थापन पक्ष प्यानल नै बिजयी भएको हो ।

केन्द्रमा संस्थापन पक्ष र जनार्दन पक्ष भएपनि कास्कीमा भने संस्थापन पक्षका राजकाजी गुरुङ र रामजीप्रसाद बरालको संयुक्त समूह र जनार्दन पक्षका दीपक कोईराला समूह बीच जुंगाको लडाईंको रुपमा रहेको थियो । जसमा गुरुङ र बरालको संयुक्त समूहले बाजी मार्दै कोईराला पक्षलाई क्लिन स्वीप गरेको छ ।

प्रतिष्ठाको लडाईं बनाइएको निर्वाचनमा अध्यक्षमा सो समूहका हरिप्रसाद भण्डारी निर्वाचित भएका छन् । जनार्दन पक्षका जनकराज पराजुलीलाई १६ मतान्तरले पराजित गर्दै भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् । महानगर कमिटीका ८६ सदस्य नै मतदाता रहेको चुनावमा भण्डारी ५१ मत प्राप्त गर्दै निर्वाचित भए । उनका प्रतिष्पर्धी जनकराज पराजुलीले ३५ मत प्राप्त गरे । पराजित पराजुली निवर्तमान सचिव हुन् ।

तीन उपाध्यक्षमा अर्जुन मल्ल, देवीमाया अधिकारी र पुष्पकमल ढुंगाना बिजयी भए । उपाध्यक्षमा बिजयी मल्लले ५४, अधिकारीले ५३ र ढुंगानाले ४९ मत प्राप्त गरे । पराजित गीता खनालले ३२ मत र दयाराम तिवारीले १० मत मात्रै प्राप्त गरे ।

कमिटीको सचिवमा यसअघि नै सूर्यप्रकाश तिवारी सर्वसम्मत निर्वाचित भइसकेका छन् । कोषाध्यक्षमा भएको निर्वाचनमा रामप्रसाद पाण्डेलाई १४ मतान्तरले पराजित गर्दै अनिल परियार निर्वाचित भए । बिजयी परियारले ४९ मत प्राप्त गर्दा पराजित पाण्डेले ३५ मत प्राप्त गरे ।

त्यस्तै, सहसचिवमा भीम नेपालीलाई १९ मतान्तरले पराजित गर्दै चन्द्रबहादुर गुरुङ बिजयी भए । बिजयी गुरुङले ५२ मत प्राप्त गर्दा पराजित नेपालीले ३३ मत प्राप्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।