पोखरा, ६ असार ।
मानव अधिकार संरक्षणमा राज्य र नागरिकको साझा जिम्मेवारी हुनु पर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्।
गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अनौपचारिक सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको संयुक्त आयोजनामा ‘मानव अधिकार र मानव अधिकार रक्षकहरुको अधिकार’ विषयक अभिमुखीकरण कार्यक्रममा तनहुँको बन्दिपुरमा वक्ताहरुले मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि कानुनको सही पालना र सुशासन अत्यावश्यक रहेको बताएका छन्।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेले लोकतन्त्र सुदृढ नहुँदासम्म मानव अधिकार सुरक्षित नहुने भन्दै राज्य र गैर-राज्य दुबै पक्षबाट हुने हननविरुद्ध सचेत रहन आग्रह गरे। उनले भने, “नागरिक स्वयं सचेत नभएसम्म मानव अधिकार संरक्षण असम्भव छ।”
बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले विद्यालय तहमै मानव अधिकारको विषय समेटिनुपर्नेमा जोड दिए । मुख्यमन्त्री कार्यालयका कानुन सचिव रामजी दनैले भने, “कानुनको सही पालना र सुशासन कायम गर्न सकेमा मात्र मानव अधिकारको संरक्षण र प्रवर्द्धन सम्भव हुन्छ।” उनले सबै तहका निकाय र नागरिकले यसमा सक्रिय भूमिका खेल्नुपर्ने बताए।

तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सबै क्रियाकलाप मानव अधिकार संरक्षण, नीति नियमको पालना र प्रतिबद्धतामा आधारित हुनुपर्ने बताए। नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डी.पी. अधिकारीले सञ्चार क्षेत्रका कर्मचारी र प्रेसमाथि राज्य तथा गैर-राज्य पक्षबाट हुने दमनका घटनालाई दुःखद पक्ष ठहर गर्दै स्वतन्त्र र सुरक्षित सञ्चार वातावरण मानव अधिकार संरक्षणका लागि अपरिहार्य भएको बताए।
इन्सेक गण्डकी प्रदेश संयोजक शिव प्रसाद खकुरेलले मानव अधिकार रक्षकहरु स्वयं पनि मानव अधिकार उल्लङ्घनको सिकार बन्ने अवस्था रहेको भन्दै उनीहरुको सुरक्षा सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगको भूमिका र संरचनाको जानकारी सहसचिव नीतु गर्तौलाले दिइन्।कार्यक्रममा पत्रकार, स्वास्थ्यकर्मी, महिला अधिकारकर्मी र गैरसरकारी क्षेत्रका प्रतिनिधिहरु सहभागी थिए। कार्यक्रम इन्सेक तनहुँका प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले सहजीकरण गरेका थिए।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावले आगामी विहिबारदेखि…







