नेपाली सिनेमा ‘शिवांश: च्याप्टर -१’ को छायांकन सकियो 


     एभरेस्ट आवाज    
     श्रावण १४ गते २०८२ मा प्रकाशित




 पोखरा, साउन १४

पोखरा नेपाली कथानक चलचित्र ‘शिवांश: च्याप्टर–१’को छायांकन सकिएको छ। सुटिङ थालेको ३६ औं दिनमा सम्पुर्ण छायांकन सकिएको निर्माता अञ्जान केसीले जानकारी दिए। जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा फिल्मको शुभ मुहुर्त गरी सुरु भएको सुटिङ ३६ औं दिनमा सकिएको हो।पोखराका लामाचौर, घार्मी, महेन्द्र गुफा, अमला बिसौनी लगायतका  आसपासमा फिल्मको दृश्य खिचिए पछि पुर्ण रुपमा छायांकन सम्पन्न भएको निर्माता  केसीले बताए।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको यस चलचित्रको निर्देशक सन्तोष कुमार आत्रेय हुन्। उनको यो डेब्यु निर्देशकीय सिनेमा हो।भगवान शिवको एक अंश अहिलेको शताब्दीमा पनि उत्तिकै सान्दर्भिक रहेकेा विषय वस्तुलाई चलचित्रमा कलात्मक रूपले प्रस्तुत गरिएको निर्देशक आत्रेयले बताए । फिल्ममा समाज वरिपरि कै कथा र त्यस बिचमा हुने शक्ति संघर्षमा आधारित रहेको भएपनि थप कथावस्तु बारे निर्माणपक्षले खुलाएको छैन्।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रूषा न्यौपानेले मुख्य भूमिका निर्वाह गरेका छन् भने विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायत अन्य कलाकारले पनि अभिनय गरेका छन्। रूषाले अभिनय गरेको जन्तेबाख्राेले बक्स अफिसमा कुनै रेकर्ड नराखे पनि उनको अभिनयको तारिफ भने भएको छ। 

चलचित्रमा थियटर कलाकारको वर्चस्व रहेको छ । निर्माता अञ्जान केसीले चलचित्रको कथा तयार गरेका हुन् । करिव ७ वर्षको मेहनतलाई पर्दामा उतारेको उनले बताए ।पटकथा भने बारत लिम्बुको छ ।

निर्देशक आत्रेयले यस अघि  नेपाली चलचित्र धौली र हुक्काकाे स्टोरी लगायतका चलचित्रमा स्क्रिन प्ले राइटरको रूपमा काम गरि सकेका छन् । न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको फिल्ममा राजनराज शिवाकोटी र विप्लव प्रतीकले गित लेखेका छन्। स्वरमा भने राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको रहेको निर्माता केसीले जानकारी दिए। फिल्ममा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चौहानको नृत्य निर्देशन, सरद महतोको सिनेम्याट्रोग्राफी रहेको छ भने चलचित्रको कार्यकारी निर्माता सम्भु थापा हुन् ।यसको सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी छन् । चलचित्रमा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन्।

चाडपर्वको छेको पारेर आगामी असोज २४ गतेबाट देशभर प्रदर्शनमा आउने ‘शिवांश: च्याप्टर १’ लाई डि सि एनले वितरणको जिम्मा लिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।