क्वाँटी संस्कृति प्रवर्द्धनमा गौंडाकोमुखका नेवार समुदाय


     एभरेस्ट आवाज    
     श्रावण १७ गते २०८२ मा प्रकाशित




पोखरा, साउन १७

नेवारी समुदायले शुरु गरेको क्वाँटी अहिले सबै जातजातिका लागि सर्वप्रिय बनेको छ । स्वास्थ्यका लागि पनि राम्रो मानिएको यो नेवारी समुदायले जनै पूर्णिमाका दिन खाने चलन रहेको थियो । तर पछिल्लो क्रममा सो दिन सबै जातजातिकाले खाने गरेकाले क्वाँटी हाल लोकप्रिय बनेको हो । नेवारी भाषामा ‘क्वाँ’ भनेको तातो र ‘टी’ भनेको झोल हो । जसको पूरा अर्थ तातो झोल भन्ने लाग्छ । नेवारी समुदायमा जनै पूर्णिमाको दिनलाई क्वाँटी पूर्णिमा भनेर मनाउने चलन छ भने सो दिन मास, मुग, केराउ, बोडी, चना, राजमा, सिमी, भट्मास, मकै, बकुल्लालगायतका नौं थरी गेंडागुडी मिसाएर पकाउने गरिन्छ । जसले तागत दिनुका साथै चिसोबाट जोगाउने बताईन्छ ।

यहि क्वाँटी खाने संस्कृतिको प्रवद्र्दन गर्न पोखरा–१३ स्थित बालगोपाल युवा समितिको आयोजनामा गौंडाको मुख क्वाँटी तथा गाईजात्रा उत्सव कार्यक्रम आयोजना गरियो । कार्यक्रममा क्वाँटीसहित नेवारी परिकारहरुको प्रदर्शनीसँगै स्वाद चखाइएको थियो । जहाँ दिनभरी नै क्वाँटी तथा नेवारी परिकारको स्वाद लिनेको भीड लागेको थियो । त्यस्तै, कार्यक्रममा नेवारी परम्परागत बाजा तथा नाचहरु प्रदर्शन गरिएको थियो । सो अवसरमा स्थानियहरुले लाखे नाच, धिमे बाजादेखि अन्य सांस्कृतिक प्रस्तुतीहरु दिएको आयोजक बालगोपा युवा समितिका अध्यक्ष तथा तेस्रो गौंडाकोमुख क्वाँटी तथा गाईजात्रा उत्सव कार्यक्रमका संयोजक धिरजप्रसाद ढेवाजुले जानकारी दिए ।

विगत तीन वर्षदेखि आयोजना हुँदै आएको क्वाँटी तथा गाईजात्रा उत्सवमा नेवार युवा तथा युवतीहरु आ–आफ्नो भेषभुषामा सहभागि हुने गरेको नेवा मिसाः पुच पोखरा–१३ की अध्यक्ष सोनी ढेवाजुले बताईन् । भनिन्,‘उत्सवले क्वाँटी संस्कृति बचाउँदै नेवारी परम्परागत गाईजात्रा, लाखे नाच, धिमे बाजालगायत मात्रै होईन, भेषभुषाको पनि प्रवद्र्दनमा सघाएको छ ।’

कार्यक्रममा गैर नेवार समुदायको पनि बाक्लो सहभागिता हुने गरेको छ । कार्यक्रममा ब्राह्मण, क्षेत्रीदेखि गुरुङ, मगर लगायत जातजातिका बालबालिकाहरुले सांस्कृतिक प्रस्तुती दिए । जसले जातिय तथा सांस्कृतिक सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ । उत्सवको अवसरमा झिलिमिली ध्वजापताकाले दुलही झैं गौंडाकोमुखलाई सिंगारिएको छ भने विभिन्न स्टलहरु राखेर नेवारी संस्कार, संस्कृतिको प्रत्यक्ष अवलोकन गर्ने अवसर मिलाइएको छ । कार्यक्रमको उद्घाटन पोखरा-१३ का वडाध्यक्ष किरण बरालले गरेका थिए भने कार्यक्रममा बाल गोपाल भजन किर्तन सेवा समितिका अध्यक्ष माधवनारायण श्रेष्ठ, पोखरा-१४ का वडाध्यक्ष बाेधराज कार्की, नेवा: खल कास्कीका उपाध्यक्ष प्रकाशलाल श्रेष्ठ, नेवा मिसा पुच:पाेखरा-१३ कि सचिव मिना श्रेष्ठ लगायतले क्वाँटी संस्कृति, गाईजात्रा संस्कृति बारे चर्चा गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।