सन्देश श्रेष्ठ
पोखरा, भदौ ४
नेपाली महिलाहरुको महान चाँड तीजको अवसरमा पर्यटनको राजधानी पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा तीज सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ । सांस्कृतिक पर्व तीजलाई विशेष बनाउन पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को आयोजनामा यहि भदौ १० र ११ गते पोखरा–६ लेकसाईडस्थित वाराहीघाटमा तीज सांस्कृतिक महोत्सवको तेस्रो संस्करण हुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रवद्र्धनमा योगदान पुर्याऔं’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवमा तीज गीत प्रतियोगिता, नृत्य, रस्साकसी, साडी दौड, घैटो फुटाउनेलगायतका प्रतियोगिता आयोजना गरिने टेवानकी अध्यक्ष शोभा न्यौपाने पाण्डेले जानकारी दिईन् । उनका अनुसार महोत्सव स्थलमा एक दर्जन स्टलहरु राखिनेछन् । जहाँ रङ्ग र सिर्जनात्मकताको संगम मेहेन्दी जोनलगायतका महिलाका लागि श्रृंगार गरिने स्टलहरु रहनेछन् । महोत्सवले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको सांस्कृतिक पहिचान उजागर गर्दै पर्यटन प्रवद्र्दन गर्ने अध्यक्ष पाण्डेको भनाई छ ।
महोत्सवको अवसरमा टेवानले महिला सशक्तिकरण, प्रेरणादायी महिलाहरूको जीवनयात्रा र सामाजिक परिवर्तनका कथाहरू समेटेर टल्क–सो कार्यक्रम गरिने महासचिव शोभा अधिकारी पौडेलले जानकारी दिईन् ।
तीज गीत प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार, द्वितीय हुनेलाई २५ हजार र तृतीय हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ । सो प्रतियोगितामा सान्त्वना हुने दश समुहलाई सान्त्वना पुरस्कार स्वरुप चार÷चार हजार प्रदान गरिने टेवानकी सचिव तथा महोत्सव संयोजक शान्ता सुवेदी तिमिल्सिनाले जानकारी दिईन् । अन्य प्रतियोगिताका विजेताहरूलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने उनले बताईन् ।
महोत्सवमार्फत तीजलाई विशेष बनाउनुका साथै पर्यटन प्रवद्र्दन गर्ने, आर्थिक चलायमान गराउने र स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने आफूहरुको उद्देश्य रहेको टेवानकी निवर्तमान अध्यक्ष तथा महोत्सवको परिकल्पनाकार कमला गिरीले बताईन् । संस्कृति जगेर्ना गर्ने मुख्य उद्देश्य हो,उनले भनिन्,‘यसलाई पर्यटनसँग सम्बन्धित सडक महोत्सव, फेवा नववर्ष महोत्सव, रोपाईं महोत्सवजस्तै ब्राण्ड बनाउँदैछौं ।’ उनले महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट सहभागिता गराउने, विभिन्न जातजातिको भेषभुषा र संस्कृति प्रदर्शन गर्ने तथा स्वदेशी तथा विदेशी पर्यटकलाई सहभागि गराउने आफूहरुको प्रयास रहेको बताईन् ।
पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले लेकसाईडमा संस्कृति जगेर्ना गर्दै पर्यटन प्रवद्र्दन गर्ने कार्यक्रम ल्याएर टेवान उदाहरणीय बनेको बताए । उनले कार्यक्रममा वडाको साथ र सहयोग रहने वचन दिए ।
नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणीराज लामिछानेले पोखरा बाह्रै मौषमका लागि उपयुक्त ठाउँ हो भन्ने पुष्टि गर्न यस्ता कार्यक्रमले सघाउने बताए । उनले भने,‘पर्यटन प्रवद्र्दनात्मक तीज सांस्कृतिक महोत्सवजस्ता कार्यक्रममा हाम्रो सँधै साथ र सहयोग रहन्छ ।’
अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले तीज सांस्कृति महोत्सवले तीजको पुरानो शैलीलाई पुनर्जीवित गर्ने विश्वास व्यक्त गरे । उनले भने,‘जसरी हाम्रा आमा, दिदी, बहिनीहरुले खुला चौरमा तीज गीत गाउने र नाच्ने परम्परा थियो । यस कार्यक्रमले त्यसलाई पुर्नजिवित गर्नेछ ।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले महिलाहरुको तीजलाई रौनकता थप्दै पर्यटन प्रवद्र्दन गर्ने कार्यक्रममा परिषदको शतप्रतिशत सहयोग रहने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १० भदौ २०८३।रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा…





