विशेषताले हात पारिन निबन्ध लेखनमा प्रथम पुरस्कार


     एभरेस्ट आवाज    
     कार्तिक ३० गते २०८२ मा प्रकाशित




तमु साँस्कृतिक प्रतिष्ठान नेपालले रजत जयन्तीको अवसरमा आयोजना गरेको “अन्तरविद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता” कार्यक्रम कात्तिक २९ गते, शनिबार पोखरा-३, नदीपुर स्थित माउन्ट अन्नपूर्ण मा.वि. मा सम्पन्न गरेको छ ।

लिटिल स्टेप मा.वि. का संस्थापक प्राचार्य श्री पम्फा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा मदरल्याण्ड मा. वि. का विशेषता तिवारीले प्रथम पुरस्कार हात पार्न सफल भएको छ । विन्ध्यावासिनी मा.वि. का पूर्णिमा भट्टराई द्वितीय, सृजना मा.वि. का दुर्गा सिग्देल तृतीय र प्रतिभा मा.वि. का विशाल खत्री सान्त्वना पुरस्कार हासिल गर्न सफल भएका छन् । विभिन्न विद्यालयका ५२ जना विद्यार्थीहरु सहभागी भएका यस कार्यक्रममा प्रमुख अतिथि गुरुङले विद्यार्थीहरुको प्रतिभा तथा लेखन क्षमतालाई तिखार्न यस्ता कार्यक्रमले अहम् भूमिका खेल्ने बताउनु भयो । प्रथम पुरस्कार राशी रु १०,०००/-, द्वितीय रु ७,०००/-, तृतीय रु ५,०००/- र सान्त्वना रु २,०००/- नगद र प्रमाणपत्र प्रदान गरेको यस प्रतियोगितामा सम्पुर्ण सहभागी विद्यार्थीहरुलाई सहभागिता प्रमाणपत्र प्रदान गरिएको थियो ।

माउन्ट अन्नपूर्ण मा.वि. का नेपाली शिक्षक दण्डपाणि सुवेदी, गुरुङ साहित्यीक मन्चका संस्थापक अध्यक्ष तथा मुक्तककार गौरी गुरुङ र मादी न्युजका सम्पादक, सन्चारकर्मी रोश्नी गुरुङको तीन सदस्यीय निर्णायक मण्डल रहेको यस कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष भेषबहादुर गुरुङ, निर्णायक गौरी गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो ।

संस्थाका अध्यक्ष श्रीजङ गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सह-सचिव एवम् यस कार्यक्रमका संयोजक लोकबहादुर गुरुङले संचालन गर्नुभएको थियो । कार्यक्रममा संस्थाका पूर्व पदाधिकारीहरु, सल्लाहकारहरु, विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।