सन्देश श्रेष्ठ
पोखरा, मंसिर २
भुटानको भुटान एयरलाईन्सले पोखरा-पारो (भुटान) सिधा उडान शुरु गरेको छ । भुटान एयरले आज एक औपचारिक उडान गर्दै पोखरा-पारो (भुटान) सिधा उडान शुभारम्भ गरेको हो । यसअघि भुटान एयरले अक्टोबरबाटै पोखरा—पारो नियमित उडान गर्ने घोषणा गरेको थियो । त्यसबेला भुटान एयरलाईन्सले असोज १२, १६, २० र २४ गते चारवटा नियमित चार्टर्ड उडान गर्ने जनाएको थियो । तर नेपालमा भएको जेनजी आन्दोलनका कारण पूर्व निर्धारित उडान रोकिएको थियो । त्यहि घोषणा अनुसार पूर्व निर्धारित उडानको तालिका हेरफेर गरि मंगलबारदेखि उडान शुभारम्भ गरेको भुटान एयरले जनाएको छ ।
पोखरा—पारो (भुटान)को पहिलो उडानमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित ९ जना यात्रु र चालक दलका सदस्य रहेका थिए । १२६ सिट क्षमताको भुटान एयर पारोबाट नेपाल आउँदा भने रित्तै आएको थियो ।

पोखरा—पारो (भुटान) उडानको शुभारम्भ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले केक काटेर गरेका थिए । मेयर आचार्यले आफू भुटान एयरको विमानमार्फत थिम्पु पुगेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले शुभारम्भ उडानमा पूर्व निर्धारित अनुसारको टोली सहभागी नभएको बताएका छन् । भुटान एयरलाईन्स, युनिभर्सल टुर्स एण्ड ट्राभल्स (युटीटी)का चेयरम्यान परासर प्रसाईंको निमन्त्रणामा आफू थिम्पु गएको पनि उल्लेख गरेका छन् । उनी ३ दिन बसेर पोखरा फर्किने बताइएको छ । भुटान भ्रमण आफ्नो सद्भावना भ्रमण भएको तर पोखरा महानगरपालिकाको कुनै खर्च नहुने उनले उल्लेख गरेका छन् ।
नेपालमा पछिल्लो क्रममा देखिएको आर्थिक मन्दी, जेनजी आन्दोलनलगायतका कारण पर्यटनमा देखिएको शिथिलतालाई पुर्नजागरण गर्न पोखरा—पारो उडानले सघाउ पुग्ने अपेक्षा गरिएको छ । पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले उडान शुभारम्भ हुनु नै धेरै राम्रो कुरा भएको बताए । हाम्रो भनाई भनेको पोखराबाट अर्न्तराष्ट्रिय उडान हुनुपर्यो भन्ने हो,उनले भने,‘भुटान एयरले उडान शुरु गरेर धेरै राम्रो गर्यो । यसबाट धेरै अपेक्षा नगरे पनि नियमित उडान भएमा पर्यटन प्रवद्र्दनमा सघाउँछ भन्ने हाम्रो अपेक्षा हो ।’ उनले यस्तै उडान अन्य अन्य ठाउँमा पनि हुने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
यसअघि पोखराबाट सिचुवान एयरलाईन्सले चीनको छेन्दु, हिमालय एयरलाईन्सले तिव्वत उडान गर्न शुरु गरिसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवेन्द्र–भगवान स्मृति छात्रवृति अक्षयकोषका लागि रकम हस्तान्तरण गरिएको छ । पोखराको बाटुलेचौरस्थित…







