अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तरराष्ट्रिय दिवस बिभिन्न कार्यक्रम गरी देशभर मनाईदैं छ ।
अपाङ्गता समावेशी समाजको प्रतिबद्धता सामाजिक उन्नतिको संवर्द्धनको नारा सहित यो दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको नेतृत्वमा आज काठमाण्डौंमा प्रभातफेरी आयोजना गरिएको छ । प्रभातफेरीमा अपाङ्गता भएका व्यक्तिमाथिको विभेद अन्त्य गरौँ, राज्यका निकाय, विद्यालय, सार्वजनिक सवारीसाधन, सडक, पार्क, मठमन्दिर, सरकारी र सार्वजनिक एवं निजी संरचना उहाँहरूको सहज रूपमा पहुँचको स्थापना गरौँ भन्ने नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरियो । खुलामञ्चबाट सुरु भएको प्रभातफेरी भृकुटीमण्डपमा आएर सभामा परिणत भएको थियो ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवस मनाउन प्रारम्भ भएको हो ।राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दैै उनले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै सुविधा र अवसरमा समान पहुँच स्थापति गर्न जरुरी भएको बताए ।
उनले भने, “नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ, संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समान, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने अपेक्षा गरेको छ, अपाङ्गताका आधारमा गरिने सबै प्रकारका विभेदलाई निषेध गर्दै उनीहरूलाई समान तथा अर्थपूर्ण रूपमा मानवीय सहभागिता गराउने मनशाय संविधानले लिएको छ ।”
अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालय, विद्यालय, सार्वनजिक सवारी, सडक, पार्क, मठमन्दिर, सरकारी र सार्वजनिक एवं निजी संरचना आदिमा उनीहरूको आवश्यकताअनुसारको मैत्रीपूर्ण भौतिक संरचना तथा अन्य आवश्यक वातावरण तयार गरी आवश्यक सुविधा उपलब्ध गराउनु आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलको भनाइ छ । प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले उक्त प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
सन्देशमा प्रधानमन्त्रीले अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, सामाजिक सुरक्षा एवं पुनः स्थापनामा सहज पहुँचका लागि सरकार क्रियाशील रहेको बताईन् । अपाङ्गता भएका व्यक्तिको आर्थिक–सामाजिक अवस्था एवं अपाङ्गताको गाम्भीर्यका आधारमा अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधामा प्राथमिकता दिई अपाङ्गता भएका सबैलाई सम्मानजनक र समतामूलक जीवनयापनको वातावरण निर्माण गर्ने राज्यको नीति रहेको प्रधानमन्त्रीले सन्देशमा स्पष्ट पारिन् ।अपाङ्गता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, सञ्चारमा रहेका अवरोध, कानुनीलगायत अन्य सबै अवरोधहरू हटाई सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि सहज, पहुँचयुक्त र सम्मानजनक अवस्थाको सिर्जना गर्नु आजको आवश्यकता भएको सन्देशमा उनले उल्लेख गरिन् ।
दिवसका अवसरमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिका लागि आफ्नो पार्टीले सामाजिक सुरक्षा भत्ताको व्यवस्था उनीहरूलाई समाजले गर्दै आएको नकारात्मक व्यवहार, राजनीतिक एवं सामाजिक आन्दोलनका माध्यमबाट परिवर्तन गर्दै आएको बताएका छन् । आज जारी शुभकामना सन्देशमा उनले राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र नागरिक अधिकार प्राप्तिका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई सङ्गठित गर्दै पार्टीले नेतृत्वमा स्थापनाको प्रयास जारी राखेको, अपाङ्गता भएका तमाम व्यक्तिले उठान गर्दै आएका विषयलाई पनि समावेश गर्दै आएको बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







