चिसो बढेसँगै मधेस प्रदेशको जनजीवन कष्टकर


     एभरेस्ट आवाज    
     पौष ९ गते २०८२ मा प्रकाशित




लगातार तीन दिनदेखि चलेको शीतलहरका कारण मधेस प्रदेशको जनजीवन अत्यन्त कष्टकर बनेको छ।

चिसो बढेपछि मधेश प्रदेशका अधिकांश जिल्लाको जनजीवन प्रभावित बन्न पुगेको छ । सिरहाको लहानमा चिसो बढ्दै गएपछि नगरपालिकाले सर्वसाधारणलाई राहत दिन चोक–चोकमा आगो बाल्न सुरु गरेको छ। चिसो ह्वात्तै बढेपछि विशेषगरी विपन्न बस्तीका नागरिक मारमा परेका छन्। ओढ्ने, ओछ्याउने र लगाउने न्यानो कपडाको अभावमा दैनिक गुजारा चलाउने विपन्न वर्गको दैनिकी प्रभावित भएको छ।

चिसोबाट नागरिकलाई जोगाउन लहान नगरपालिकाले बजार क्षेत्रका मुख्य स्थानहरूमा दाउरा उपलब्ध गराएर आगो बाल्ने व्यवस्था मिलाएको छ । मानिसहरूको बढी जमघट हुने ग्रामीण चोक, नयाँ बजार, गणेश चोक, मालपोत कार्यालय अगाडि, सडक डिभिजन कार्यालय र तरकारी बजारलगायतका स्थानमा आगो बाल्ने कार्य ९घुर० सुरु गरिएको ह । लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले बजार क्षेत्रमा घुर बाल्न सुरु गरिएको र वडाहरूमा पनि आवश्यकता अनुसार दाउरा पठाउने तयारी भइरहेको जानकारी दिए। मधेसमा चिसो छल्न सामूहिक रूपमा आगो ताप्ने ९घुर० परम्परागत चलन रहिआएको छ।

मेयर चौधरीका अनुसार चिसोबाट प्रभावित विपन्न परिवारलाई राहत उपलब्ध गराउन नगरपालिकाले तयारी थालेको छ। यसका लागि वडा तहबाट वास्तविक विपन्नहरूको तथ्याङ्क सङ्कलन भइरहेको छ।तथ्याङ्क आएलगत्तै पाँच सय थान फाइबरको सिरक वितरण गर्ने तयारी रहेको मेयर चौधरीले बताए।

लगातारको शीतलहरले जनजीवन प्रभावित भइरहेकाले सरकारी निकाय तथा स्थानीय तहले सक्रियता बढाएका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।