कांग्रेसभित्रको एकता जोगाउन सभापति देउवा लचक


     एभरेस्ट आवाज    
     पौष ३० गते २०८२ मा प्रकाशित




नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम राख्न आफू लचक रहेको बताएका छन् ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा काठमाडौँमा जारी विशेष महाधिवेशनका सन्दर्भमा उत्पन्न विवाद समाधानका लागि आज पार्टी सभापति देउवा र महामन्त्री गगन थापासहित विश्वप्रकाश शर्माबीच छलफल भएको थियो ।देउवा निवास महाराजगञ्जमा बिहान भएको छलफलमा सभापति देउवाले आफू पार्टीको एकता बचाउनका लागि हिजो पनि काम गर्दै आएको र आज पनि त्याग गर्न तयार रहेको बताएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मालाई पनि पार्टीको एकता बचाउनका लागि तयार हुन आग्रह गरेका थिए । पार्टीका तर्फबाट टिकट वितरणका लागि निर्वाचनमा आफ्नो आधिकारिक हस्ताक्षर बुझाइएको विषयमा त्याग गर्नुपर्ने मागका सन्दर्भमा उनले आफू त्यसलाई छोड्न तयार रहेको प्रवक्ता डा महतले जानकारी दिए । कांग्रेसको यसअघिको केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गरी सभापति देउवाको हस्ताक्षर निर्वाचन आयोग पठाइएको थियो ।

सोहीअनुसार आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभामा समानुपातिकतर्फको पार्टीका टिकट वितरण भइसकेको छ । अब प्रत्यक्षतर्फको मात्र टिकट वितरण हुन बाँकी छ । अरु विशेष महाधिवेशनलगायतका विषयमा उनीहरुबीच छलफल भएको र केन्द्रीय कार्यसमितिमार्फत ती विषय टुङ्ग्याउन आग्रह गरेका थिए ।

महामन्त्रीद्वय थापा र शर्माले सभापति देउवासँग छलफल भएका विषयमा विशेष महाधिवेशनमा रहनुभएका साथीहरुसँग छलफल गर्ने भनेर बैठकबाट निस्किएको प्रवक्ता डा महतले जानकारी दिए । सभापति देउवासँग भएको छलफलका विषयमा महामन्त्री शर्माले विशेष महाधिवेशनमा सहभागि प्रतिनिधीलाई जमानकारी गराएका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।