पर्सा २ र सिरहा ३ का उम्मेदवार पक्राउ


     एभरेस्ट आवाज    
     फागुन २० गते २०८२ मा प्रकाशित




प्रहरीले पर्सा र सिरहाका एक एक जना उम्मेदवारलाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी र सिरहा–३ का जसपा, नेपालका उम्मेदवार अशेश्वर यादव रहेका छन् ।

पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार चौधरीसहित चार जनालाई पक्राउ गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त जाँच टोलीले पर्साको हरपुरबाट बडनिहारतर्फ आउँदै गरेको बा१०च १२५० नम्बरको गाडीमाथि जाँच गर्दा गाडीको पछाडि डिक्कीभित्र पहेँलो टेपले बेरिएको टिनको बक्साभित्र शङ्कास्पद वस्तु फेला पारेर अनुसन्धान भइरहेको जनाएको छ । पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकले शङ्कास्पद वस्तुसहित पक्राउ गरेका चारै जनामाथि अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ पर्नेमा ४६ वर्षीय उम्मेदवार चौधरी, बाराको प्रसौनी गाउँपालिका–४ का सहाब आलम अन्सारी, धनुषाको धनुषाधाम नगरपालिका–४ का सुरज कार्की, पर्सागढी नगरपालिका–३ का सत्यनारायण थारू रहेका छन् ।

त्यसैगरी, वीरगन्ज महानगर–१६ स्थित इनर्वागाउँस्थित विशेष सूचनाका आधारमा निर्वाचन लक्षित एकीकृत सुरक्षाकर्मीको संयुक्त टोलीले नौ थान सुतली बमसहित सुँगुरको टाउको एक थान र वाइरिङ तार १० मिटरसहित तीन जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले पक्राउ परेका व्यक्तिउपर विस्फोटक पदार्थसम्बन्धी कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर र निर्वाचनसम्बन्धी कसुरमा थप अनुसनधान भइरहेको जानकारी दिए ।

त्यसैगरी, प्रहरीले मौनअवधिमा रकमसहित हिँड्दै गरेका सिरह–३ का उम्मेदवार यादवलाई पनि नियन्त्रणमा लिएको हो।सिरहा प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको स्करपियोमा चार लाख ८७ हजार रुपियाँसहित यादव फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।