सन्देश श्रेष्ठ
पोखरा, बैशाख २७
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं महाधिवेशन पोखरामा शुरु भएको छ । पोखरा–६ लेकसाईडस्थित पोखरा ईभेन्ट सेन्टरमा आजदेखि शुरु महाधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।
तीन दिनसम्म चल्ने पोखरा महाधिवेशनले तीन वर्षका लागि नया नेतृत्व चयन गर्नेछ । महासंघको अध्यक्षमा बरिष्ठ उपाध्यक्ष द्वय पुण्यप्रसाद सिटौला (सरोज) र हरिशरण केसीले बलियो दाबेदारी प्रस्तुत गरेका छन् । केदार क्षेत्रीले पनि आकांक्षा देखाए पनि चुनाव लड्ने पक्षमा उनी नरहेको उनी निकट एक प्रतिनिधिले बताए । सिटौला र केसीले भने चुनाव नै भए पनि पछि नहट्ने बताउँदै आएका छन् । यी दुबै हालका बरिष्ठ उपाध्यक्ष हुन् । सिटौला पहिलो नम्बरका बरिष्ठ उपाध्यक्ष हुन् भने केसी तेस्रो नम्बरका । अर्का बरिष्ठ उपाध्यक्ष ऐनकुमार साही भने अध्यक्षको आकांक्षी होईनन् । उनी सर्वसम्मत भएमा बरिष्ठ उपाध्यक्ष दोहोरिने पक्षमा छन् । तर बरिष्ठ उपाध्यक्षमा पनि आधा दर्जन बढीले आकांक्षा देखाएका छन् ।
अध्यक्षलगायत सबै पदाधिकारी र सदस्यमा सहमतीको प्रयास भइरहेको बताइन्छ । यद्वपी सहमती हुने सम्भावना भने न्यून रहेको व्यवसायीहरु बताउँछन् । सहमती नभएमा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुने वर्तमान सचिव भानुभक्त बराल बताउँछन् । उनका अनुसार सोमबार बन्दशत्र हुने र सँगसँगै उम्मेदवारी मनोनयन पनि हुनेछ । ‘सहमती नभएमा मंगलबार चुनाव हुन्छ’–उनले भने । चुनाव विद्युतीय माध्यमबाट हुने उनले बताए । त्यसका लागि ४० वटा विद्युतीय भोटिङ मेसिन तयारी अवस्थामा राखिएको उनको भनाई छ ।
महाधिवेशनमा देशभरका ३८७ संस्था÷कम्पनीका २ हजार भन्दा बढी प्रतिनिधि÷पर्यवेक्षकको सहभागीता रहेको महासंघ गण्डकी प्रदेशका निवर्तमान संयोजक केदार पौडेलले जानकारी दिए । महासंघको महाधिवेशनमा सबै गरेर करीब ५ हजार यातायात व्यवसायी सहभागी भएको उनको अनुमान छ ।
महाधिवेशनलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात क्षेत्रलाई सुधार्न खोजे पनि नसकेको बताए । यातायात क्षेत्र सुधार्न धेरै प्रयासहरु भएका छन्,उनले भने,‘तर यस क्षेत्रलाई यातायातमैत्री चाहेर पनि बनाउन सकिरहेको अवस्था छैन ।’ उनले यातायात क्षेत्र आफू पनि सुधारिने र राज्यलाई पनि बाटो देखाउनेगरी आउनुपर्नेमा जोड दिए । मुख्यमन्त्री पाण्डेले राईड सेयरिङलाई वैद्यता दिदा व्यवसायीहरु रिसाउनु नपर्ने बताए । व्यवसायीसँग लभ एण्ड हेटको सम्बन्ध छ,उनले पुरानो कुरा स्मरण गर्दै भने,‘केहि समय अगाडि राईड सेयरिङलाई वैद्यता दिदा मबिरुद्ध नाराबाजी पनि गरेको स्मरण गर्न चाहन्छु । तर यातायातलाई प्रविधिमैत्री नबनाई सुख छैन, राईड सेयरिङलाई कानूनी दायरामा ल्याउँदा राज्यलाई फाईदा हुन्छ ।’
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजिपी) दानबहादुर कार्कीले यातायातलाई व्यवसायीक बनाउन सुझाव दिए । सडक सुरक्षादेखि यात्रुमैत्री वातावरण बनाउँदा सुरक्षित यात्रासँगै व्यवसाय पनि मर्यादित र व्यवस्थित बन्ने बताए ।
नेपाल अटोमोवाईल डिलर्स एशोसियसन –(नाडा)का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले यातायात व्यवसायीसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए ।
महासंघका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार योगेन्द्रनाथ कर्माचार्यले व्यवसायीबीच एकता अहिलेको आवश्यक्ता भएको बताए । ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष ई.दीपक कुँवरले राज्यको स्पष्ट नीति नहुँदा यातायात क्षेत्र धरासायी बन्ने स्थितिमा पुगेको भन्दै त्यसलाई जोगाउन व्यवसायीक एकता अपरिहार्य भएको बताए ।
महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलले यातायात क्षेत्रमा व्यवसायीकता र व्यवसायीक एकता आवश्यक भएको भन्दै यस महाधिवेशनले त्यसमा ठोस कदम चाल्ने विश्वास व्यक्त गरे ।
महासंघका अध्यक्ष बिजयबहादुर स्वाँरले यातायात व्यवसायीहरुलाई राज्यले अपराधीको जस्तो व्यवहार गरेको गुनासो गरे । दुर्घटना पछिको अवस्थामा व्यवसायीलाई थुन्ने र तर्साउने काम भइरहेको छ,उनले भने,‘यसले लगानीकर्ताहरु निरुत्साहित छन् । त्यसैले यो काम तत्काल बन्द गरियोस् ।’ उनले फाष्ट ट्रयाकबाट बीमा नीति परिमार्जन गरी बीमा पोलिसी बुझाईसकेपछि व्यवसायीले दुर्घटनाको कानूनी झञ्झटबाट उन्मुक्ती पाउनुपर्ने उनको माग थियो । उनले पनि यातायात क्षेत्रमा व्यवसायीकता र व्यवसायीक एकताका लागि प्रयास गरिएको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख २७ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं महाधिवेशन पोखरामा…




