पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ह्वीलचियर हस्तान्तरण


     एभरेस्ट आवाज    
     जेठ २ गते २०८३ मा प्रकाशित




सामाजिक संस्था हेड्स नेपालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक विभागलाई पाँच थान ह्वीलचेयर हस्तान्तरण गरेको छ ।

संस्थाको ३३ औ स्थापना दिवसको अवसरमा मानवीय सहायता स्वरुप सो सामाग्री प्रदान गरेको हो । अस्पताल परिसरमा आयोजित कार्यक्रममा हेड्स नेपाल कास्कीका अध्यक्ष हरि वहादुर भट्टराईले अस्पतालका इमर्जेन्सी विभाग तथा जनरत ओपिडी प्रमुख प्रा.डा. नारायण सिंह गुरुङलाई ह्वीलचियर हस्तान्तरण गरे । आकस्मिक उपचारमाका लागि आउने विरामी, जेष्ठ नागरिक तथा अशक्त सेवाग्राहीलाई सहज सेवा उपलव्ध गराउने उदेश्यले ह्वीलचियर सहयोग गरिएको अध्यक्ष भट्टराईको भनाई छ । सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर हेड्स नेपालले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै उनले स्वास्थ्य सेवामा समान्य सहयोगले पनि विरामी र उनका परिवारलाई महत्वपूर्ण राहत पुग्ने भएकोले आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिइने बताए ।

प्रमुख प्रा.डा. गुरुङले अस्पतालमा दैनिक ठूलो संख्यामा विरामी आउने भएकोले यस्ता सामाग्री अत्यन्त उपयोगी हुने वताउँदै हेड्न नेपालको सहयोगले आकस्मिक कक्षको सेवा प्रवाहलाई थप सहज बनाउने विश्वास व्यक्त गरे । अस्पताललाई जनशक्ति,भौतिक पूर्वाधार र प्रविधियुक्त सुविधा सम्पन्न बनाउँदै जनताको उपचारमा सहज एवम प्रभावकारी बनाउन तीनै तहका सरकार जिम्मेवार हुनु पर्नेमा उनको जोड थियो । अस्पतालमा विभिन्न विभागबाट सदर दैनिक दुई हजार जना विरामीले स्वास्थ्य सेवा लिदै आएका छन भने आकस्मिक कक्षबाट मात्र मासिक तीन हजार पाँच सय भन्दा बढीले सेवा लिदै आएको इमर्जेन्सि इन्चार्ज नरेन्द्र ठकुरीले जानकारी दिए । ६१ जना कर्मचारी कार्यरत रहेको विभागमा अहिले पनि मेडिकल अधिकृतको खाँचो रहेको उनको भनाई छ । हेड्स नेपालका उपाध्यक्ष अर्जुन प्रसाद श्रेष्ठका अनुसार स्थापना दिवसलाई औपचारिक कार्यक्रम भन्दा सामाजिक सेवासंग जोड्दै आएको संस्थाले यसअघि पनि शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रम अघि बढाएको बताए ।

कार्यक्रममा संस्थाका सल्लाहका तथा अधिवक्ता सुकदेव गौतमले संस्थाको पछिल्लो सहयोगले मानवीय संवेदनशीलता केवल भाषणमा मात्र नभई व्यवहारमा पनि उतार्न सकिन्छ भन्ने सन्देश दिएको बताए । कुनैपनि सरकारी एवम् संघसंस्थाबाट सहयोग नलिने र आप्mना सदस्यबाटै दैनिक एक रुपैयाका दरले संकलन गरेको रकमबाट संस्थाले विकट वस्तिका सामुदायिक विद्यालयका विद्यार्थीलाई पोषाक, शैक्षिक सामाग्री तथा नगदेवालीका विरुवा उत्पादन गरेर विक्री गर्दै आएको संस्थाका सदस्य सुमन श्रेष्ठको भनाई थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।