रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि मतदान जारी


     एभरेस्ट आवाज    
     असार १२ गते २०८३ मा प्रकाशित




राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी चयनका लागि मतदान जारी रहेको छ ।

चितवनमा जारी महाधिवेशनअन्तर्गत पदाधिकारीका छनोटका लागि दोस्रो चरणमा निर्वाचन भएको हो । रास्वपाको सभापति पदमा रवि लामिछाने र खुला उपसभापतिमा डा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन् । महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि निर्वाचन भइरहेको छ । महिला उपसभापतिमा सोबिता गौतम र डा तोसिमा कार्की प्रतिस्पर्धामा छन् । महामन्त्री पदमा मनीष झा, विपिन आचार्य, सागर ढकाल र गणेश कार्की उम्मेदवार छन् । महामन्त्री पदका आकांक्षी कबिन्द्र बुर्लाकोटी, रञ्जु दर्शना, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदिश खरेल र शिशिर खनाल तथा राजुनाथ पाण्डले उम्मेदवारी फिर्ता लिएका थिए ।

पदाधिकारी चयनमा सहमतिको प्रयास भए पनि हुन नसकेकाले केही निर्धारित समयभन्दा ढिला मतदान सुरु भएको निर्वाचन आयोगकका प्रमुख भुवन केसीले बताए । सहमहामन्त्री पुरुषका लागि असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्त रहेका छन् । महिला सहमहामन्त्रीतर्फ जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

असार ७ गतेदेखि चितवनमा सुरु भएको महाधिवेशन आज पदाधिकारी निर्वाचनको मत परिणाम सार्वजनिक गरी सम्पन्न गर्ने तयारी छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।