फाइल तस्विर
सन्देश श्रेष्ठ
पोखरा, साउन १०
केन्द्रमा प्रदेश सरकार बदल्नेगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीबीच सहमती भएको छ । सहमती अनुसार ७ प्रदेशमध्य ५ प्रदेशमा सरकार बदल्ने प्रयास हुनेछ । बाँकी गण्डकी प्रदेश र बागमती प्रदेशबारे सहमती पत्र मौन छ ।
सरकार बदल्न सक्ने स्थिति भएर पनि नेकपा–एमालेबीच भएको सहमतीमा गण्डकी प्रदेश नछिराइएको होइन । बरु सरकार बदल्ने हैसियत नै नभएकाले सहमतीमा गण्डकी प्रदेश प्रवेश नगराइएको हो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा राजिव गुरुङ (दीपक मनाङे) निलम्वनमा परेकाले ५९ सदस्यीय रहेको छ ।
५९ सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३० सदस्य चाहिन्छ । तर नेकपा एमालेको २२ र नेकपाको ७ सदस्य गरेर कुल २९ सदस्य मात्रै छन् । त्यसमध्य पनि सभामुख नेकपाको रहेकाले सरकार बनाउनका लागि गरिने हस्ताक्षरमा उनी समावेश हुन पाउने छैनन् । बाँकी रहने २० सदस्य सरकार बनाउन अपर्याप्त संख्या हो ।
अर्कोतर्फ वर्तमान सरकार चलाईरहेको नेपाली कांग्रेसको २८ सदस्य छन् । त्यसमा पहिलेदेखि नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन गर्दै आएको छ । उसो त जेनजी आन्दोलनलगत्तै सरकारबाट बाहिरिएका प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) सांसद फडिन्द्र देवकोटाको समर्थन पनि यथावत छ ।
गण्डकीमा सरकार बदल्न नेकपा–एमालेलाई राप्रपाको साथ चाहिन्छ । तर राप्रपाले पहिलेदेखि नै गण्डकीमा कांग्रेसलाई साथ दिदै आएको छ । उसो त देवकोटालाई पनि कांग्रेसले च्याप्दै आएको छ । कांग्रेस–माओवादी गठबन्धन तोडिएपछि मुख्यमन्त्री पाण्डेले राप्रपासहित तत्कालीन स्वतन्त्र सांसद दीपक मनाङे र फडिन्द्र देवकोटाको साथ लिएर सरकार बचाएका थिए । पछि कांग्रेस–एमाले गठबन्धन बनेपछि गण्डकीमा एमालेले मनाङे र देवकोटालाई हटाएर सरकार बनाउन दवाब दिएको थियो । तर मुख्यमन्त्री पाण्डेले एमालेको निरन्तरको दवाबका बाबजुद दुबैलाई हटाएनन् भने राप्रपाको समर्थन यथावत राख्न सफल भए ।
जसले गर्दा अहिले पनि कांग्रेससँग राप्रपा र देवकोटाको सम्बन्ध निकट देखिन्छ । यसले तत्काल पाण्डे सरकार ढल्ने सम्भावना देखिदैन ।
यद्वपी कांग्रेस अहिले विभाजनको डिलमा छ । गगन थापा पक्ष कांग्रेसको नेतृत्वमा आएपछि देउवा पक्ष समानान्तर गतिविधिमा लागेको छ । केन्द्रमा समानान्तर गतिविधि भए पनि गण्डकीमा भने त्यसप्रकारको कुनै गुञ्जायस देखिदैन । उसो त देउवा पक्ष मानिने मुख्यमन्त्री पाण्डेले कांग्रेसको सकृय सदस्यता नवीकरण गरेर संस्थापन पक्षको पनि मन जित्ने प्रयास गरेकाले गण्डकीमा पाण्डे सरकार गिराउन गगन पक्ष नलाग्ने स्रोत बताउँछ । स्रोत भन्छ,‘एक हप्ता अगाडि कांग्रेस सभापती गगन थापा आएको कार्यक्रममा मुख्यमन्त्री पाण्डे मञ्चमै बसेकाले पनि संस्थापनले सत्ता गिराउनचाहिं भूमिका नखेल्ला ।’ पार्टी नै फुटेको खण्डमा भने पाण्डेबिरुद्ध खेल खेलिनसक्ने उनको बुझाई छ ।
केहि समयअघि केन्द्रको प्रभाव गण्डकीमा देखिन थालेको थियो । गगन पक्षले पाण्डेबिरुद्ध सरकार ढाल्ने प्रयासको थालनी पनि गरेको थियो । तर सत्ताका चतुर खेलाडी मुख्यमन्त्री पाण्डेले बेलैमा त्यसको समाधान गरेकाले ठूलो दुर्घटना ट¥यो । त्यसबेला मुख्यमन्त्री पाण्डेले एकातिर एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई बजेटपछि सत्ता हस्तान्तरण गर्ने भन्दै त्यतिञ्जेल मन्त्रीहरु फेर्न सफल भएभने अर्कोतर्फ गगन पक्षका एकजनालाई मन्त्री र अर्को एक जनालाई संसदीय दलको पदाधिकारी बनाएर थामथुम पारे ।
तर अहिले एमालेलाई सत्ता हस्तान्तरण गर्ने बेलामा कांग्रेस–एमाले गठबन्धन भत्किएपछि मुख्यमन्त्री पाण्डेलाई हाईसञ्चो भएको छ । हस्तान्तरण नगर्ने सोंच बनाएका पाण्डेले समीकरण नै बदलिएपछि खगराजलाई सत्ता सुम्पिनु पनि परेन भने अर्कोतर्फ नया समीकरण बनाएको एमाले–नेकपाको बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री पाण्डे गदगद छन् । उसो त एमाले–नेकपा गठबन्धनले देउवा पक्षसँग मिलेमतो गरेर अघि बढ्ने सम्भावना पनि भएकाले उनी सरकार नढल्नेमा निश्चिन्त देखिन्छन् ।
गण्डकीमा सरकार बनाउने हो भने केन्द्रले नै राप्रपासँग सहमति गर्नुपर्ने गण्डकी प्रदेश नेकपा संसदीय दलका नेता हरि चुमान बताउँछन् । हामीले कुरा गर्दा राप्रपाका साथीहरु हामी सकारात्मक नै छौं भन्नुहुन्छ,उनले भने,‘तर हामीले मात्रै भनेर हुँदैन, केन्द्रको निर्देशन आएपछि मात्रै अगाडि बढ्छौं पनि भन्नुहुन्छ । त्यसैले सरकार बनाउने हो भने केन्द्रले राप्रपा नेतृत्वसँग बसेर कुरा मिलाउनु पर्छ ।’ त्यसका लागि आफूले नेतृत्वलाई बताइसकेको उनले जानकारी दिए ।
नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले पनि गण्डकीमा सरकार फेरबदलको प्रयास नभएको बताए । अंकगणितमा कमजोर भएपछिको सिनारियोलाई संकेत गर्दै उनले भने,‘ईगो साँधेर मात्रै राजनीति हुने होईन, त्यसैले सरकार फेरबदल गर्ने प्रयासमा हामी छैनौं र कसैसँग कुरा पनि गरेका छैनौं ।’ सरकार बदल्ने कुरा आवश्यक्ताले निर्धारण गर्ने भन्दै त्यस्तो अवस्था अहिल्यै नभएको उनको भनाई थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १० साउन ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा…





