सन्देश श्रेष्ठ
पोखरा, भदौ ३
गण्डकी प्रदेश खेलकुद परिषद् (गखेप)का दुई जना कार्यकारिणी सदस्यले पदक वितरणमा भएको त्रुटी र लापरवाहीको जिम्मेवारी सदस्य सचिवले लिनुपर्ने बताएका छन् । गखेप कार्यकारिणी सदस्य द्वय भेनिस थापा र कञ्चन थापा कोइरालाले पदक वितरणमा भएको विवादप्रति आफूहरुको ध्यानाकर्षण भएको जनाउँदै त्यसको सम्पूर्ण जिम्मेवार सदस्य सचिव भएको बताएका हुन् ।

थापा र कोईरालाले बुधबार संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै पदक वितरणमा भएको गल्ती, कमजोरी वा लापरवाहीमा आफूहरुको संलग्नता नरहेको स्पष्ट पारेका छन् । उनीहरुले प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले बनाएको छानविन समितिले छानविनपश्चात निकालेको निश्कर्षमा आफूहरु सहमत भएको जनाउँदै सो प्रतिवेदन कार्यान्वयन गर्न मागसमेत गरेका छन् । विज्ञप्तीमा भनिएको छ,‘पदक वितरणमा गम्भीर त्रुटि, लापरवाही तथा प्रक्रियागत कमजोरी भएको निष्कर्षसहित छानबिन समितिले प्रतिवेदन बुझाएको सम्बन्धमा हामी सदस्य द्वयको निर्णय प्रक्रिया वा कार्यान्वयनमा संलग्नता छैन । यसको सम्पूर्ण जिम्मेवारी निर्णय गर्ने र कार्यान्वयन गर्ने पदाधिकारीले लिनुपर्छ ।’ पदक सिफारिस समितिको सिफारिस बिना नै पदक वितरण गरिएको थाहा पाउँदा आफूहरु अचम्मित भएको उनीहरुले बताएका छन् । हामीलाई पदक सिफारिस समितिबाट सिफारिस भइआएको भनेर प्रस्ताव गरिएको थियो,उनीहरुले विज्ञप्तीमा भनेका छन्,‘त्यस आधारमा उपस्थितिमा हस्ताक्षर गरेका हौं, तर निर्णयमा होईन ।’
उनीहरूले पदक वितरण सम्बन्धी निर्णयमा उपस्थितिमा गरिएको हस्ताक्षरलाई प्रयोग गरिएको उनीहरुको स्पष्टोक्ती छ । ‘उपस्थितिमा गरिएको हस्ताक्षरलाई निर्णयमा प्रयोग गरी हाम्रो सहमति वा स्वीकृति रहेको देखाउनु तथ्यसम्मत होइन’–उनीहरुले विज्ञप्तीमा भनेका छन् ।
सदस्यद्वय थापा र कोईरालाले पदक प्रदेशको गौरव भएको बताउँदै त्यसको गरिमा जोगाएर वितरण हुनुपर्नेमा आफूहरु स्पष्ट रहेको जनाएका छन् । ‘पदक खेलाडीको मेहनतसँगै प्रदेश र राष्ट्रको गौरवसँग जोडिएको विषय भएकाले यसको वितरण विधि, प्रक्रिया र मापदण्डअनुसार हुनुपर्छ भन्नेमा हाम्रो स्पष्ट मत छ’–उनीहरुले भनेका छन् । त्यसैले छानबिन समितिको प्रतिवेदनका आधारमा सत्यतथ्य निष्पक्ष रूपमा परीक्षण गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न र निर्दोषलाई दोषारोपणबाट मुक्त गर्न उनीहरूले सरकारसँग आग्रहसमेत गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र पेन्सन पट्टाको प्रचार तिब्र पारिएको…





