पोखरामा ठूलाडिही स्याङ्जा स्थायी घर भएका ७० जनाको सामाजिक सुरक्षा लाभग्राहीको परिचयपत्र नवीकरण तथा सूचीकरण


     एभरेस्ट आवाज    
     भाद्र ७ गते २०८३ मा प्रकाशित




पोखरा। पुतलीबजार नगरपालिका–७, ठूलाडिही, स्याङ्जा स्थायी घर भई हाल पोखरा महानगरपालिकामा बसोबास गर्दै सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा लाभग्राही सूचीकरण कार्यक्रम सम्पन्न भएको छ।

ठूलाडिही–पोखरा सम्पर्क मञ्चको संयोजन तथा पुतलीबजार नगरपालिका–७ ठूलाडिही वडा कार्यालयको प्राविधिक सहयोगमा शनिबार पोखरा महानगरपालिका–१७, ड्यामसाइडस्थित वडा कार्यालयको प्राङ्गणमा कार्यक्रम आयोजना गरिएको हो।

मञ्चका अध्यक्ष दुर्गा बहादुर शाह ‘बाबा’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा ७० जना लाभग्राही सहभागी भई सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा सूचीकरण गराएका थिए।

कार्यक्रममा पुतलीबजार नगरपालिका–७ का वडाध्यक्ष कृष्णबहादुर आले तथा पोखरा महानगरपालिका–१७ की वडाध्यक्ष राधिका शाहीको विशेष उपस्थिति रहेको थियो।

लाभग्राहीलाई सेवा प्रदान गर्ने क्रममा वडा सचिव नारायणबहादुर थापा तथा कम्प्युटर सहायक रामचन्द्र रेग्मीले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रमका लागि वडा कार्यालयको प्राङ्गण उपलब्ध गराई सहयोग गरेकोमा ठूलाडिही–पोखरा सम्पर्क मञ्चले पोखरा महानगरपालिका–१७ की वडाध्यक्ष राधिका शाहीप्रति धन्यवाद ज्ञापन गरेको छ। साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी तथा उपस्थित महानुभावप्रति मञ्चले आभार व्यक्त गरेको छ।

कार्यक्रमले पोखरामा बसोबास गरिरहेका ठूलाडिही क्षेत्रका सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई आफ्नै क्षेत्रमा सहज रूपमा परिचयपत्र नवीकरण तथा सूचीकरण सेवा प्राप्त गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।