पोखरा उद्योग वाणिज्य संघको यही भाद्र २० र २१ गते सम्पन्न हुने ७२ औं साधारण सभा तथा ३६ औं महाधिवेशनका लागि अध्यक्षका आकांक्षी शोभा गौतमको प्यानल घोषणा भएको छ ।
आज शुक्रबार बिहान पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि गौतमको प्यानल घोषणा गरिएको हो । गौतम हाल संघको महासचिबको जिम्मेवारीमा छिन। ‘समावेशी टिम, जुझारु नेतृत्व—सबल संघ, समृद्ध पोखरा’ नारा सहित गौतमले आंफ्नो प्यानल घोषणा गरेकी हुन।गौतमको प्यानलको वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुङ्गाना, कोषाध्यक्षमा बालकृष्ण कोइराला र उपमहासचिवमा यादव पोखरेललाई राखिएको छ। आंफ्नो प्यानल घोषणा गर्न आयोजित कार्यक्रममा अध्यक्षका उमेदवार गौतमले एकताबद्ध भई निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति अनुरूप प्यानल सहितको उम्मेदवारी घोषणा गरिएको बताइन ।
प्यानल घोषणा गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा वितरित बिज्ञप्तीमा पोखरा उद्योग वाणिज्य संघ पोखराको सामाजिक, आर्थिक तथा व्यावसायिक विकासको यात्रामा विगत सात दशकदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको गौरवशाली संस्था रहेको र संघले सम्पूर्ण उद्योगी–व्यवसायीको हकहितको संरक्षण, सामाजिक उत्तरदायित्व बहन, व्यवसायमैत्री वातावरण निर्माण, स्थानीय उत्पादनको प्रवद्र्धन, उद्यमशीलताको विकास तथा निजी क्षेत्रको आवाजलाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउँदै आफ्नो गौरवपूर्ण इतिहास निर्माण गरेको उल्लेख छ। ‘यही गौरवपूर्ण इतिहास, संस्थाको गरिमा र निजी क्षेत्रप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै संघलाई अझ सबल, साझा, गतिशील, पारदर्शी, समावेशी र परिणाममुखी बनाउने उद्देश्यका साथ हामी एकजुट भएका छौँ।’ बिज्ञप्तीमा भनिएको छ।
आँफुहरुको प्यानल अनुभव र ऊर्जाको संयोजन भएको साथै समावेशी, जुझारु र प्रतिबद्ध टिम रहेको पनि बिज्ञप्तीमा दाबी गरिएको छ। उद्योग, व्यापार, पर्यटन, महिला उद्यमशीलता, युवा व्यवसायी लगायत निजी क्षेत्रका विभिन्न क्षेत्र र पुस्ताको प्रतिनिधित्वलाई समेट्दै संघलाई नयाँ गति र दिशा दिन प्रयास गर्ने भन्दै उनले बदलिँदो आर्थिक परिवेश, प्रविधिको तीव्र विकास तथा उद्योगी–व्यवसायीले भोगिरहेका नयाँ चुनौतीलाई सम्बोधन गर्न अबको नेतृत्व सक्षम, सक्रिय र परिणाममुखी हुनुपर्नेमा बिज्ञप्तीमा जोड दिईएको छ ।
गौतमको प्यानलले उद्योगी,व्यवसायीका वास्तविक समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने, स्थानीय उत्पादन, स्थानीय उद्यम र स्थानीय बजारलाई प्राथमिकता दिने, युवा तथा महिला उद्यमशीलतालाई प्रोत्साहन र प्रवद्र्धन गर्ने, लगानीमैत्री वातावरण निर्माणका लागि सरकार तथा सम्बन्धित निकायसँग प्रभावकारी सहकार्य र पैरवी गर्ने, पोखराको पर्यटन तथा आर्थिक सम्भावनालाई उद्योग–व्यवसायसँग जोड्ने, संघलाई प्रविधिमैत्री, आधुनिक, पारदर्शी र अझ प्रभावकारी संस्थाका रूपमा विकास गर्ने, साना, मझौला तथा ठूला सबै उद्योगी–व्यवसायीको साझा आवाजका रूपमा संघलाई स्थापित गर्ने, निजी क्षेत्रको सम्मान, सुरक्षा र व्यावसायिक अधिकारका लागि सशक्त रूपमा पैरवी गर्ने जस्ता एजेन्डालाई अगाडी सारेको छ।
संघमा यसपटक शोभासहित कुल ४ जनाले नेतृत्वमा आकांक्षा राखेका छन् । आकांक्षी अर्जुन पोखरेल, उत्तम बुद्धाचार्य र बलराम आचार्यले अहिलेसम्म प्यानल भने सार्वजनिक गरेका छैनन् । २०११ सालमा अमृतप्रसाद शेरचनको अध्यक्षतामा स्थापना भएको पोखराको जेठो सामाजिक संस्था संघमा हाल २ हजार ७ सय ३१ सदस्य आबद्ध छन् । आज उमेदवारहरूले मनोनयन पत्र लिएका छन् भने ८ गते उमेदवारले मनोनयन पत्र दाखिला गर्नुपर्नेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ६ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिनका लागि…





