सन्देश श्रेष्ठ
पोखरा, भदौ १२
गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितको उद्धार, उपचार र राहतका लागि ४ करोड सहयोग गर्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार एक अपील जारी गर्दै भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहित विभिन्न जिल्लाका प्रभावित नागरिकको उद्धार, उपचार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा सो रकम प्रदान गर्ने निर्णय भएको जनाएका हुन् ।
मुख्यमन्त्री पाण्डेको अपीलमा बाढीका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट धार्मिक तथा अन्य यात्रामा गएका नागरिकहरू अझै पनि सम्पर्कमा नआउँदा चिन्ता बढाएको बताएका छन् । उनले सम्पर्कविहीन नागरिकको खोजीमा गण्डकी प्रदेश सरकारले समन्वय गरिरहेको उल्लेख गरेका छन् । अपीलमा भनिएको छ,‘सम्पर्कविहीन नागरिकको खोजी, अवस्था पहिचान र भेटिएका शवको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।’
मुख्यमन्त्री पाण्डेले बाढी पीडितको उद्धार, घाइतेको उपचार र आश्रयविहीनका लागि खानपानको व्यवस्था गर्न सरोकारवालाहरुलाई प्रभावकारी रूपमा परिचालित हुन आग्रह समेत गरेका छन् । ‘विपद्को यस घडीमा जोखिममा रहेकाको गण्डकी प्रदेश सरकार आफ्नो सामथ्र्य अनुसार उद्धार र राहतमा सहयोग गर्न प्रतिबद्ध छ’–उनले भनेका छन् । उनले बाढीले क्षेती पु¥याएको रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपुर लगायतका स्थानको पीडा सो जिल्लाका मात्र नभएर समग्र नेपाल र नेपालीको साझा पीडा भएको बताएका छन् ।
मुख्यमन्त्री पाण्डेले विपद् पीडित नागरिकको खोज, उद्धार र राहत कार्यमा सहयोगका लागि गण्डकी प्रदेशभित्रका उद्योगी व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई अपील गरेका छन् । ‘साथै विपद्को संवेदनशील समयमा अपुष्ट सूचना, अफवाह तथा भ्रामक सामग्रीको प्रचारप्रसार नगर्न र आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचनामात्र सम्प्रेषण गर्न सबैमा विशेष आग्रह गर्दछु’–उनले भनेका छन् ।
यसअघि पोखरा महानगरपालिकाले प्रधानमन्त्री दैवी, प्रकोप उद्धार तथा राहत कोषमा ४५ लाख सहयोग घोषणा गरिसकेको छ । त्यस्तै, मादी गाउँपालिकाले २ करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ । विपदमा रुपा गाउँपालिकाले पनि पीडितसँगै उभिएको जनाएको छ । उनीहरुको उद्धार तथा राहतका लागि सबै जनप्रतिनिधि तथा कर्मचारीको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिएका छन् ।
गण्डकी प्रज्ञा प्रतिष्ठानले २ लाख १६ हजार १ सय १० रुपैयाँ सहयोग घोषणा गरेको छ । एक लाख प्रतिष्ठानको तर्फबाट र थप १ लाख १६ हजार १ सय १० रुपैयाँ प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीको तलव, भत्ताबाट सहयोग गर्ने निर्णय भएको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, पोखरा उद्योग वाणिज्य संघले ७५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । उसो त गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले ५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिसकेको जनाएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





