पोखरामा वटा ४० तायाः मचासहित एक सयभन्दा बढी गाईजात्रा निस्कियो


     एभरेस्ट आवाज    
     भाद्र १३ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, भदौ १३

नेवारी समुदायको परम्परागत गाईजात्रा पोखरामा पनि मनाइएको छ । नेवारी समुदायका एक वर्ष भित्र आफन्त वितेका परिवारबाट निकालिने गाईजात्राको रौनक आज पोखरामा पनि देखिएको हो । विगतका वर्षहरुमा झैं यस वर्ष पनि पोखरामा बाक्लै मात्रामा गाईजात्रा निस्किएको नेवाःखल कास्कीले जनाएको छ ।

पोखराका प्रायः सबै गाउँ र टोलबाट गाईजात्रा निस्किएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए । यति नै संख्यामा गाईजात्रा निस्कियो भनेर त भन्न सकिन्न,उनले भने,‘तर हरेक गाउँ÷टोलमा एक वा त्यो भन्दा बढी मान्छे वितेका घर भएकाले उनीहरुले गाईजात्रा निकाले ।

गाईजात्राको अवसरमा शनिबार कम्तिमा पनि ४० स्थानबाट तायामचाःसमेत निकालिएको छ । नेवा खलः कास्कीको आह्वानमा ४० शाखा (कचाः)खलःहरुले तायाः मचा निकालेका हुन् । शनिबार पुरानो पोखरामा ३० स्थान, लेखनाथमा ८ स्थान, रुपा गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको घाचोकमा १÷१ स्थान गरेर कुल ४० स्थानबाट तायाःमचा निस्किएको अध्यक्ष पालिखेले जानकारी दिए । उनका अनुसार पोखरामा शनिबार हेमजा, लामौचार, बगर, मोहरियाटोल, भैरवटोल, भीमसेनटोल, गणेशटोल, रामकृष्णटोल, बगालेटोल, सिमलचौर, राष्ट्रवैंकचोक, पार्दी विरौटा, छोरेपाटन, पृथ्वीचोक, नयाँबजारबाट तायमचाः निकालिए । त्यस्तै, महेन्द्रपुल, तेर्सापट्टी, रानीपौवा, गौंडाकोमुख, कुँडहर र रामबजारबाट पनि तायाःमचा निस्केको उनले बताए । त्यस्तै लेखनाथबाट सिसुवा, अर्घौं, गगनगौंडा, जनताको चौतारा, बागमारा, हंसपुर, देउरालीलगायतका स्थानबाट तायाः मचा निकालिएको जनाइएको छ ।

तायाःमचा ४० ठाउँबाट भएपनि गाईजात्रा भने एक सय भन्दा बढी ठाउँबाट निस्किएका छन् । एउटा टोलबाट धेरै गाई निस्किएपनि तायाःमचा एउटै हुने भएकाले गाईको संख्या धेरै भएको अध्यक्ष पालिखेको भनाई छ । उनले भने,‘एउटा टोलबाट एउटा तायाःमचा निकालिन्छ । तर एउटा टोलमा २–३ जनादेखि ५–६ जनासम्म पनि मान्छेको मृत्यू भएकाले सो अनुसार प्रत्येक घरबाट गाई निस्किदा सयभन्दा बढी निस्किएका छन् ।’

गाईजात्राको अवसरमा पोखरामा शनिबार रामायण पनि निकालिएको छ । तायाः मचासँगै पोखरामा यस वर्ष रामायण पनि निकालिएको संस्कृतिकर्मी अष्टमान प्रधानाङ्गले जानकारी दिए । सिद्धिविनायक गणेश मन्दिर संरक्षण समितिभैरवटोलका अध्यक्ष कृष्णदेव प्रधानाङ्गको श्रीमती स्व.विजयालक्ष्मी प्रधानाङ्गको स्मृतिमा उनको परिवारले शनिबार गाईजात्राको अवसरमा रामायण परिक्रमा गराएको उनले बताए । मृतकको सम्झनामा उनको गुणगान गाउँदै निकालिने रामायणमा सबै भगवानको प्रतिमूर्ती बनाएर बाजागाजासहित निकालिने खर्चालु भएकाले रामायण परिक्रमा अक्कलझुक्कल मात्रै निस्किने गरेको र पोखरामा यस पटक निस्किएको उनको भनाई छ ।

यसैबीच, गाईजात्राको अवसरमा नेवा खलः कास्कीको आह्वानमा तायाः मचा नृत्य प्रतियोगिता यहि भदौ २० गते शनिबार आयोजना हुँदैछ । लामाचौर कचाः खल गुठीको आयोजनामा पोखरा–१६ लामाचौर चोकमा प्रतियोगिता हुन लागेको हो । हरेक वर्ष हुँदै आएको प्रतियोगिताको यस वर्षको श्रृंखलामा ३८ टिम प्रतियोगिका रुपमा र २ वटा टिम अप्रतियोगिका रुपमा सहभागि हुने आयोजक लामाचौर कचाः खल गुठीका अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए ।

यस वर्षको प्रतियोगिताको बिजेताले १ लाख ११ हजार १ सय ११, द्वितीय हुनेले ७७ हजार ७ सय ७७ रुपैयाँ र तृतीय हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ तथा सान्त्वना हुने एक टीमले २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।

यस वर्ष महिलातर्फको उपाधि बिजेतालाई ४० हजार, द्वितीय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई २० हजार प्रदान गरिने पनि उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।