पोखरा — पोखरामा भारतीय नम्बरको कार फेवातालमा खस्दा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
पोखरा महानगरपालिका–१८ गैरीचौतारा घुम्तीस्थित सडकबाट भारतीय नम्बरको कार फेवातालमा खसेको हो। शुक्रबार बिहान करिब ४ः५० बजे सेदीबाट लेकसाईडतर्फ आउँदै गरेको कार चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको प्रहरीले जनाएको छ।
कारमा चार जना सवार रहेको खुलेको छ। दुर्घटनाको खबर पाएलगत्तै व.प्र.का. बैदामबाट प्र.ना.उ. सुर्य बहादुर बोगटीको कमाण्डमा १५ जनाको प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट स.प्र.नि. शरण खड्काको कमाण्डमा १३ जनाको टोली उद्धारका लागि खटिएको थियो।
उद्धारका क्रममा भारत बिहार प्रदेश मोतिहरी जिल्ला रक्सौल घर बताउने बर्ष २७ को अनमोलकुमार यादव र सोही ठाउँ घर बताउने बर्ष ३३ को सुरज यादवलाई उद्धार गरी उपचारका लागि GMC अस्पताल पठाइएको थियो। दुवैको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
त्यसपछि बिहान ५ः५५ बजे फेवातालको पानीभित्रबाट थप दुई जनालाई अचेत अवस्थामा उद्धार गरिएको थियो। उनीहरूलाई पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको थियो।
बिहान ६ः२० बजे क्रेनको सहयोगमा फेवातालको पानीभित्रबाट भारतीय BR 05 BB 6759 नं.को कार निकालिएको थियो। कारलाई व.प्र.का. बैदामको कार्यालयमा ल्याएर राखिएको प्रहरीले जनाएको छ।
पानीबाट उद्धार गरिएका दुवै जनालाई चिकित्सकले बिहान ६ः२१ बजे मृत घोषणा गरेका थिए। उनीहरूको शव सोही अस्पतालमा राखिएको छ।
मृतकमा भारत बिहार प्रदेशको पूर्वी चम्परण जिल्ला रक्सोल घर भएको बर्ष २६ को नवदीप कुमार यादव रहेको निजको आधार कार्डबाट खुलेको प्रहरीले जनाएको छ।
अर्का मृतक बर्ष अं. ४०/४५ को पुरुषको पहिचान नखुलेको प्रहरीले जनाएको छ।
घटनास्थल व.प्र.का. बैदामबाट अं. २ कि.मि. पश्चिम पर्छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा — पोखरामा भारतीय नम्बरको कार फेवातालमा खस्दा दुई जनाको मृत्यु भएको…








