सन्तानेश्वरमा जारी महायज्ञमा १ करोड ६० लाख संकलन


     एभरेस्ट आवाज    
     भाद्र २२ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि जारी श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा १ करोड ६० लाख रुपैयाँ संकलन भएको छ।

महायज्ञको छैटौँ दिन सोमबार करिब ७ लाख रुपैयाँ सहयोग संकलन भएको प्रस्याङ बगैँचा पार्क व्यवस्थापन समितिका सचिव लक्ष्मण कोइरालाले जानकारी दिए।उनका अनुसार महायज्ञ सुरु हुनुअघि नै मन्दिर पुनःनिर्माणका लागि ७७ लाख रुपैयाँ संकलन भइसकेको थियो। महायज्ञ सुरु भएपछि भक्तजन तथा दानवीरको सहभागिता र सहयोग निरन्तर बढिरहेको आयोजकले जनाएको छ।देशका विभिन्न क्षेत्रमा परेको प्राकृतिक विपद्का कारण महायज्ञको प्रारम्भिक दिनमा अपेक्षाकृत कम सहभागिता हुने आशंका गरिए पनि स्थानीयवासीले यसलाई धार्मिक अनुष्ठानसँगै सामाजिक अभियानका रूपमा अघि बढाएपछि भक्तजनको उत्साहजनक सहभागिता देखिएको छ।

वडा नं। ५ का विभिन्न टोल विकास संस्था, आमा समूह तथा स्थानीय समुदायसँगै छिमेकी वडाबाट समेत श्रद्धालु तथा दानवीरहरू महायज्ञमा सहभागी भइरहेका छन्। महायज्ञ प्रचारप्रसार संयोजक लक्ष्मण बरालले धार्मिक आस्था, सामाजिक एकता र मानवीय सेवाको भावनालाई जोडेर महायज्ञ सञ्चालन गरिएको बताए।उनका अनुसार संकलित रकममध्ये केही हिस्सा हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगमा प्रदान गरिनेछ। उनले मन्दिर पुनःनिर्माणको अभियानमा वडावासीको अभूतपूर्व एकता देखिएको र छिमेकी वडाबाट समेत सहयोगको क्रम बढिरहेको बताए।महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले श्रीमद्भागवत कथा वाचन गरिरहेका छन्।

भक्तजन कथा श्रवणसँगै भजन–कीर्तन, देवलिला तथा विभिन्न धार्मिक कार्यक्रममा सहभागी भइरहेका छन्। सोमबार अजा एकादशीसमेत परेकाले विशेष धार्मिक कार्यक्रमसहित महायज्ञ सञ्चालन गरिएको आयोजक समितिका अध्यक्ष शिवप्रसाद पराजुलीले बताए। महायज्ञ भदौ २५ गतेसम्म सञ्चालन हुनेछ। महायज्ञबाट संकलित रकम सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणमा प्रयोग गरिनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।