पर्यटन प्रवर्द्धनका लागि बेगनासमा हुने तीज गीत प्रतियोगिता बाढी पीडितप्रति समर्पित हुने


     एभरेस्ट आवाज    
     भाद्र २३ गते २०८३ मा प्रकाशित




पोखरा । पर्यटन प्रवर्द्धन तथा स्थानीय कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पोखरा पार्टी मिडिया प्रालिको आयोजनामा पोखराको बेगनासमा हुन लागेको खुला तीज गीत प्रतियोगिता रसुवा बाढी पीडितमा समर्पित हुने भएको छ । यहि भदौ २७ गते शनिबार पोखरा –३१ स्थित बेगनास वराह क्षेत्रमा हुन प्रतियोगिता बाढी पीडितप्रति समर्पित गरेर हुने भएको आयोजकले जनाएको छ । प्रतियोगिताको अध्यक्षता पोखरा पार्टी मिडिया प्रालिका अध्यक्ष सुरेन्द्र सापकोटा भाटले गर्नेछन् भने कार्यक्रम संयोजकमा सिद्धान्त शाही ठकुरी रहेका छन्।
बेगनास ताल वराह क्षेत्र विकास संस्थाको कार्यक्रम समन्वयमा आयोजना हुने प्रतियोगितामा तीज गीतमार्फत बेगनास क्षेत्रको पर्यटन, संस्कृति, कला तथा स्थानीय मौलिकताको प्रचार–प्रसार गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
कार्यक्रममा लोकदोहोरी क्षेत्रका कलाकार तथा गायक रामजी पौडेल, सावित्री शाही र नेत्र गुरुङ लगायतका कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। जसअनुसार प्रथम हुनेलाई २० हजार रुपैयाँ, द्वितीयलाई १५ हजार रुपैयाँ, तृतीयलाई १० हजार रुपैयाँ र सान्त्वना हुने समूहलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
आयोजकका अनुसार प्रतियोगिताले तीज पर्वको मौलिकता संरक्षणसँगै बेगनास क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साथै बाढी पीडितका वेदनाहरु पनि गीतमार्फत पोखिने संयोजक शाहीले जानकारी दिए ।स्थानीय कलाकार, आमा समूह तथा विभिन्न संघसंस्थाको सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाउने गरि हुन लागेको प्रतियोगिताबाट बचत भएको केहि रकम बाढी पीडितका लागि सहयोग पनि गरिने उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।