पात्ले युवा क्लबको सभा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     कार्तिक ७ गते २०८३ मा प्रकाशित




पोखरा महानगर पालिका वडा नं. १९ मा रहेको पात्ले युवा क्लबले नेपालीका महत्वपुर्ण चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा १९ का वडा सदस्य विकासकुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन गर्दै आचार्यले परापुर्व कालदेखि मनाउँदै आएका चाडपर्वले सामाजिक एकता, आपसी सद्भाव र एक आपसमा भाइचाराको सम्बन्ध विस्तार गर्ने बताए । क्लबका अध्यक्ष विष्णुप्रसाद गौतम ‘कमल’को अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका युवा नेता एवं क्लबका सल्लाहकार विकास गौतम, नेपाली कांग्रेस पोखरा–१९ का सभापति एवं क्लबका सल्लाहकार विष्णुप्रसाद बास्तोला तथा नेकपा एमाले पोखरा महानगर कमिटीका उपसचिव विष्णुप्रसाद गौतमलगायतले चाडपर्वका अवसरमा आयोजित यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा व्यक्त गरे ।

क्लबका अध्यक्ष गौतमले स्थानीय युवाहरूलाई सामाजिक कार्यमा सक्रिय बनाउने, आपसी सम्बन्ध सुदृढ गर्ने तथा विभिन्न जातजाति, समुदाय र संस्कृतिबीच सद्भाव कायम राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । सोही अवसरमा क्लबले चौथों साधारण सभा पनि गरेको छ । सभाले अध्यक्ष गौतमको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष अस्मिता गौतमको आर्थिक प्रतिवेदन पारित गर्यो । त्यस क्षेत्रका बिभिन्न व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन क्लबका सचिव श्रीकुमार गौतमले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।