पुराना कम्युनिष्ट नेता पौडेलको अन्त्येष्टि


     एभरेस्ट आवाज    
     कार्तिक ८ गते २०८३ मा प्रकाशित




कास्कीका पुराना कम्युनिष्ट नेता मिनराज पौडेलको अन्त्येष्टि गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १९ पुरञ्चौर निवासी पौडेलको ७९ वर्षको उमेरमा शनिबार दिउँसो आफ्नै निवासमा निधन भएको थियो ।

उनको आइतबार धार्मिक विधिपुर्वक ढाँवस्थित सेती नदी घाटमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय पौडेलको पार्थिव शरिरमा छोरा नारायण पौडेलले दागबत्ती दिएका थिए । त्यसअघि पौडेलको पार्थिव शरिरमा नेकपा एमालेका सचिव खगराज अधिकारी, स्थायी कमिटीका सदस्य किरण गुरुङ, कोशी प्रदेशका पुर्व प्रमुख सोमनाथ अधिकारी प्यासीले पार्टीको झण्डा ओढाएर अन्तिम विदाई गरेका थिए । उनीप्रति एमालेका केन्द्रीय सदस्य रश्मि आचार्य, राजीव पहारी, डा. पुष्पा केसी भण्डारी, नेता चुडामणी जगंली, पुण्यप्रसाद पौडेल, मनबहादुर गुरुङ, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष डा. भरत पहारी, प्रदेश सभा सदस्य सुधीर पौडेल, गणेशमान गुरुङ,प्रदेश कमिटीका सचिव धनन्जय दवाडी, एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, जिल्ला समन्वय समिति,कास्कीका प्रमुख लिलाधर पौडेल,पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, अन्नपुर्ण गाउँ पालिकाका अध्यक्ष विष्णुबहादुर केसी, नेता शोभामोहन पौडेल,दीपक पौडेल, प्रेम पौडेल,दिलिप न्यौपाने, झपट रानाभाट, महानगर कमिटीका अध्यक्ष जीवन आचार्य, सचिव सुशील बस्नेत, सहसचिव विष्णुप्रसाद गौतम, युवा नेता अर्जुन अधिकारीलगायतका नेताले पुष्प अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश सह इन्चार्ज श्रीनाथ बराल, प्रदेश कमिटीका अध्यक्ष कृष्ण नेपाली, जिल्ला अध्यक्ष खड्ग हमाल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि खिमलाल बास्तोला, कांग्रेस कास्कीका सहसचिव शंकर जि ढुगांनालगायतले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै उनले नेपालको लोकतान्त्रिक आन्दोलन र यस क्षेत्रको विकास निर्माणमा पुर्याएको योगदानको स्मरण गरेका थिए । सचिव अधिकारीले पौडेलको निधनले पार्टीले एक असल योद्धा गुमाएको बताउँदै, नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँको योगदान अतुलनिय रहेको स्मरण गरे । स्वर्गीय पौडेलका सहपाठी एवं कोशी प्रदेशका पुर्व प्रमुख सोमनाथ अधिकारी प्यासीले तत्कालिन समयमा गण्डकी र धौलागिरी क्षेत्रमा संगठन विस्तारमा उहाँले देखाएको सक्रियताकै कारण पार्टीले उचाई हासिल गरेको बताए । लाल कमरेडको नामले परिचित पौडेलले सादगी, इमान्दार, जिम्मेवारीमा प्रतिबद्ध नेताको पहिचान कायम गरेका थिए ।

वि.सं. २००५ सालमा जन्मिएका पौडेल करिब एक दशक लामो सरकारी शिक्षण पेशा त्यागेर पञ्चायती व्यवस्था विरुद्ध भुमिगत राजनितिमा लागेका थिए । त्यस क्रममा उनले तत्कालिन नेकपा मालेको संगठन बिस्तारमा समेत सक्रिय भए । पार्टीको काम गर्दा जेल नेल समेत भोगेका उनले २०४९ सालको स्थानीय निर्वाचनमा पुरञ्चौर गाउँ विकास समितिको उपाध्यक्ष भएर विकास निर्माण र स्थानीय प्रशासनमा समेत सेवा गरेका थिए । नेकपा एमालेको विभाजन पछि तत्कालिन समयमा नेकपा मालेमा सक्रिय भएका पौडेल फेरि एमाले कै राजनितिमा सक्रिय थिए । उनी एमाले कास्कीका सदस्य, सचिवालय सदस्य, अञ्चल कमिटी सदस्य र पछिल्लो समय प्रदेश सल्लाहकार सदस्यमा रही राजनितिक सक्रियता देखाएका थिए ।

भारती भवन विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष समेत भएर विद्यालयको शैक्षिक तथा भौतिक विकासमा खटिटएका पौडेल वृहत खानेपानी समितिको अध्यक्ष, नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, कास्कीमा कफि खेतीको अगुवा भई कार्य गरेका थिए । पौडेलका श्रीमती रमा, २ छोरा देवेन्द्र, नारायण र १ छोरी सीता पौडेल पराजुली छन् । ३ छोरा मध्ये जेठा छोरा विजयको भने यस अघि नै निधन भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।